सर्वोच्च अदालतका प्रस्तावित पाँचै न्यायाधीश सुनुवाइ समितिबाट अनुमोदित

news

काठमाडौं, वैशाख ५ । सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले प्रस्तावित पाँचैजना न्यायाधीशसित सुनुवाइ गरी अनुमोदन गरेको हो ।

प्रस्तावित न्यायाधीशहरुमा कुमार रेग्मी, हरि फुयाँल, प्रकाश ढुंगाना, सुष्मालता माथेमा र डा. मनोज शर्माको सुनुवाइ भएको हो ।

समितिको बैठकमा बोल्दै प्रस्तावित न्यायाधीशहरुले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरुले संसदीय सुनुवाइ प्रणालीले जनताप्रति सबै निकायलाई उत्तरदायी बनाएको बताए ।

संविधान र कानुनको अधिनमा रही न्यायालयलाई स्वतन्त्र बनाउन आफूहरुले भूमिका खेल्ने उनीहरुले बताएका छन् ।

समितिमा बोल्दै प्रस्तावित न्यायाधीश रेग्मीले भ्रष्टाचार गर्ने चरित्र बोक्ने व्यक्ति न्यायाधीश हुन नसक्ने भन्दै त्यस्ता चरित्र भएकालाई कारबाही गर्न संसदलाई आग्रह गरे ।

उनले गरिब जनताको न्यायमा पहुँच पुर्‍याउन सर्वोच्चमा रहँदा आफूले हर प्रयत्न गर्ने बताए ।

त्यस्तै, फुयाँलले आफूले गर्ने न्याय सम्पादनसँग विगतको पृष्ठभूमि नजोड्न आग्रह गरे ।

सांसदहरुले कम्युनिस्ट पृष्ठभूमिबाट आएकाले त्यहीअनुसार न्याय सम्पादनमा प्रभाव पर्ने हो कि भन्ने आशंका गरेपछि उनले आफूले विगतका सबै विषयलाई बिर्सिएको र नयाँ जीवनसहित नयाँ जिम्मेवारी अनुभूति गर्नुपरेको महसुस भएको बताए ।

न्याय परिषद्ले कनिष्ठ व्यक्तिहरुलाई न्यायाधीश बनाएको भन्दै केही वरिष्ठ वकिलहरुलेसमेत सिफारिस अनुमोदन नगर्न समितिलाई आग्रह गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...