सगरमाथाको फोहोर ओसार्दै नेपाली सेनाको हेलिकोप्टर

news

 काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानका क्रममा पहिलो चरण अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ ।

यस वर्षको सफाइ अभियानका क्रममा खुम्बु क्षेत्रबाट संकलन भएको फोहोरलाई पहिलो चरण अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।

नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन गरिएको एक दशमलब पाँच टन फोहोर काठमाडौं ल्याएको नेपाली सेनाको राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु आरक्षण निर्देशनालयका सह निर्देशक महासेनानी जोनसन खड्काले जानकारी दिए ।

सगरमाथा क्षेत्रको सफाइमा सहगभागी भएको सेनाले आफ्नै हेलिकोप्टरमार्फत पहिलो पटक फोहोर ल्याएको हो । पहिलो चरणअन्तर्गत काठमाडौं ल्याइएको फोहोरलाई सेनाले ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरेको छ ।

व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमा नै व्यवस्थापन गरी प्रशोधन गर्न मिल्ने फोहोरमात्रै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएको फोहोरलाई भने ब्ल्यू वेस्ट टु भ्यालु नामक संस्थाले व्यवस्थापन गर्ने छ ।

गत वर्षदेखि ब्ल्यू वेस्ट टु भ्यालुले सगरमाथा क्षेत्रमा संकलित फोहोरलाई व्यवस्थापन गर्दै आएको र उक्त फोहोरलाई पहिला म्याटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा लगेर विभिन्न भागमा छुट्याइने संस्थाका म्यानेजर आशिष खनालले जानकारी दिए । उनका अनुसार त्यसरी छट्याइएको फोहोरको तौल मापन गरी प्रशोधनका लागि पठाइने छ ।

यही बैशाख १ गतेबाट सुरु भएको सरसफाइ अभियानमा नेपाली सेनाका साथै स्थानीय तह तथा विभिन्न संघसस्थाको सहभागीता रहेको छ ।

सगरमाथा सरसफाइ अभियान २०१९ आगामी जेठ २२ गतेसम्म जारी रहने छ । सफाइका क्रममा संकलित केही फोहोर सामग्रीलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन मे २९ मा नाम्चेमा प्रदर्शन गर्ने र उक्त फोहोर सामग्रीलाई विश्व वातावरण दिवसको अवसरमा जुन ५ अर्थात जेठ २२ गते काठमाडौंमा पनि प्रदर्शन गरिने छ ।

यस वर्ष सफाइ अभियानका क्रममा सगरमाथाबाट ५ हजार केजी र सगरमाथाको अन्य क्षेत्रबाट ५ हजार केजी गरी १० हजार केजी अर्थात १० टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

सफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, वन तथा वातावरण मन्त्रालय, पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सहभागिता रहेको छ ।

४५ दिनसम्म चल्ने सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।

 यस अभियानका क्रममा सगरमाथा क्षेत्रमा अलपत्र परेका शवहरुको पनि व्यवस्थापन गर्ने प्रयास गरिने छ । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...