वीरताको चिनारी जितगढी किल्ला

news

केशव भण्डारी (इमेज)

बुटवल, वैशाख ७ । नेपालीहरुको वीरताको चिनारी बोकेको जितगढी किल्लाको संरक्षणका लागि सरकारीस्तरबाटै विशेष पहल सुरु भएको छ ।

केही समयअघि गाईबाख्रा चराउने थलोकारुपमा प्रयोग हुँदै आएको यस ऐतिहासिकस्थलको स्थानीय तहमा जनप्रतिनिधि आएसँगै संरक्षण थालिएको हो ।

तत्कालीन समयमा विभिन्न भागमा भएका युद्धमा पराजय व्यहोरिरहेका बेला जितगढी किल्लामा भने नेपालले शानदार जित हासिल गरेको थियो । यही गढी अहिले नेपालको गर्विलो इतिहासको साक्षी बनेको छ ।

वि.सं. १८७१ पुसदेखि १८७२ सम्म जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्नेगरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा र बुटवललाई आक्रमण गर्न गोरखपुरबाट अघि बढेको जनरल उड नेतृत्वको अंग्रेज फौज र उजिरसिंह नेतृत्वको नेपाली सेनाबीच घमासान युद्ध भएको थियो ।

युद्धमा अंग्रेज टोलीले ठूलो क्षति व्यहोरेर फिर्ता भएको थियो ।

तीन महिनापछि उडकै नेतृत्वमा दोस्रोपटक अंग्रेज फौजले बुटवलमा आक्रमण गर्दा सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भएपनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले आक्रमण गरी अंग्रेजहरुलाई पराजित गरेरै छाडे ।

नेपाल–अंग्रेजबीच भएका युद्धमा नेपाली पक्ष लगातार पराजित हुँदै गइरहेका बेला जितगढी किल्लामा नेपालले जित हासिल गरेपछि नेपालीमा ठूलो आशा र हौसला थपिएको थियो ।

इतिहास जानकारकाअनुसार पाल्पा–बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाले वि.सं. १८७२ मा अंग्रेजलाई हराएपछि विजयपताका फहराएका थिए ।

त्यही गौरव र शानकोे परिचय हो, बुटवलको जितगढी किल्ला । जहाँ नेपाल–अंग्रेजबीचको युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।

५०० वर्गफिट इलाकामा फैलिएको यो गढीको पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट रहेको छ ।

गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ ।

नेपाली फौजले पराक्रम र चलाखी देखाइ यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकाले जितगढी भनिएको जनश्रुति रहेको छ । 

लामो समयसम्म राज्यले वास्ता नगर्दा पुरातात्विक र ऐतिहासिक सम्पदा जीर्ण बन्दै गएको अवस्थामा स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यसको संरक्षण थालिएको छ ।

बुटवल उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीयथलोकारुपमा विकास गर्ने योजना बनाएको छ ।

गुरुयोजनाअनुसार २ विगाहा २ कठ्ठा ८.५२ धुरमा संरचना निर्माणलगायतका कामहरु गर्ने उल्लेख छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...