नेपाल एयरलाइन्सले दिल्ली उडान थप्यो

news

काठमाडौं, वैशाख ८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।

भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो ।

निगमले वैशाख १८ (मे १ देखि) काठमाडौँ–नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ ।

यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले  जानकारी दिए ।

आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।

यसअघि निगमले ‘न्यारो बडी’ र ‘वाइड बडी’ जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।

‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुबै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, वाइड बडी उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन न्यारो बडी (१५८ सिट क्षमता) को दोब्बर यात्रु एउटै वाइड बडीले बोक्ने भएकाले सबै उडान वाइड बडीमार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भने ।

निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

केही महिनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...