आर्चरीतर्फ नेपाली सेनाका खेलाडीको प्रभाव

news

नेपालगञ्ज, वैशाख ८ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरीतर्फ नेपाली सेनाका खेलाडीहरुले प्रभाव जमाएका छन् ।

नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा आज भएको पुरुष ३० मिटर स्टाण्डर्डमा आर्मी क्लबका तविन गुरुङले स्वर्ण पदक जिते । पुरुषको व्यक्तिगततर्फ तविनले बेस्ट आर्चरी क्लबका प्रन्जल राईलाई ६–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् ।

यसैगरी तविनसहितको टिमले पुरुष टिम स्पर्धामा बेस्ट आर्चरी क्लबलाई ६–० ले पराजित गर्दै स्वर्ण जित्यो । आर्चरीकै महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले दोहोरो स्वर्ण पदक जितेकी छन् । अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा ब्यक्तिगत तथा टिम इभेन्टमा स्वर्ण पदक जितेकी हुन् ।

व्यक्तिगततर्फ उनले फाइनलमा आफ्नै क्लबकी अनुसा गुरुङलाई ६–२ को अन्तरमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । अर्चनासहितको टिमले स्ट्याण्डर्ड टिम महिला स्पर्धामा कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पराजित गर्दै स्वर्ण जित्यो ।

यसैगरी, स्ट्यान्डर्ड युगलतर्फ अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडीलाई ६–४ ले पराजित गर्दै आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडीले स्वर्ण पदक जित्यो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...