३१ परियोजनामा २५ खर्ब रुपैयाँको प्रस्ताव

news

काठमाडौं, वैशाख ८ । लगानी सम्मेलनमा प्रस्तुत भएका विभिन्न परियोजनामध्ये वैशाख ७ गतेसम्म लगानीकर्ताहरुबाट २६ वटा परियोजनामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरि चैत १५ र १६ गते सम्पन्न भएको सम्मेलनमा प्रस्तुत भएका विभिन्न ७७ परियोजनामध्ये ३१ परियोजनाका लागि २५ खर्ब रुपैयाँ बराबर रकमको प्रस्ताव पारित भएको जानकारी दिएको हो । अधिकांश आयोजनाका लागि १/१ वटा आवेदन परेको छ भने केही आयोजनाका लागि २ देखि ६ वटासम्म आवेदन परेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

राष्ट्रिय गौरवका आयोजनालाई तिव्रताका साथ अगाडि बढाइने उनको भनाइ छ । साथै लगानी बोर्डले परियोजनामा सहभागी हुन एक महिना समय थप गरेको पनि जनाएको छ । 

कृषि पूर्वाधारको ५ वटा परियोजनामा ७ वटा, स्वास्थ तथा शिक्षा पूर्वाधारको २ परियोजनामा २ वटा नै, ऊर्जा पूर्वाधारका ७ परियोजनामा ८ वटा प्रस्ताव परेको बोर्डले जनाएको छ । उद्योग पूर्वाधारका एउटा परियोजनाका लागि एउटा नै, पर्यटन पूर्वाधारका ३ परियोजनाका लागि ३ वटा नै, यातायात पूर्वाधारका ९ वटा परियोजनामा २२ वटा र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ ।

त्यस्तै पहिलो चरणमा २७ परियोजनाका लागि ३ महिना भित्रै, दोस्रो चरणमा १७ परियोजनाका लागि ९ महिनामा र तेस्रो चरणका ६ परियोजनाका लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने कार्ययोजना रहेको पनि बोर्डले जनाएको छ । निजगढ विमानस्थलको लागि सबैभन्दा बढी ६ वटा आवेदन प्राप्त भएको पनि बोर्डले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...