मापदण्डविपरित नदीजन्य वस्तुको दोहन बढ्योः अनुगमन फितलो(भिडियो)

news

-वासुदेव वर्मा/ईमेज

कपिलबस्तु । फितलो अनुगमन र मनपरी प्रवृत्ति मौलाउँदै जाँदा पछिल्लो समय कपिलवस्तुमा नदीजन्य वस्तुको दोहन बढ्दै गएको छ ।

निषेधित क्षेत्रमा मापदण्डविपरित नदी उत्खनन् भइरहँदा एकातिर पर्यावरणीय असन्तुलनको खतरा बढेको छ भने अर्कोतिर मनपरी शुल्क असुली भइरहेको छ ।

जिल्ला स्तरीय अनुगमन समिति कपिलवस्तुले अनुगमनमा कडाइ नगर्दा नदीजन्य पदार्थको दोहन बढ्दै गएको छ ।

घाटगद्दी बनाएर अनुगमन समितिको स्वीकृति अनुसार घाटगद्दीबाट नदीजन्य वस्तुको विक्री वितरण गर्नुपर्ने भए पनि जिल्लाका विभिन्न खोलाबाट घाटगद्दीबिनै खुलेआम नदीजन्य पदार्थको निकासी हुने गरेको छ ।

मापदण्डअनुसार ठेक्का सम्झौता गरेको वाणगंगा नगरपालिकास्थित खड्का काष्ठ तथा फर्निचर घाटगद्दीबिनै नदीजन्य वस्तु विक्री वितरण गर्दै आएको भेटिएको छ । 

घाटगद्दीस्थलमा सञ्चारकर्मी पुग्दा केही टयाक्टरहरुले सोझै खोलाबाट नदीजन्य पदार्थ निकाली नापजाँचबिनै बिक्रीवितरण गरेको भेटिएको थियो ।

ठेक्का सम्झौतामा सम्पूर्ण शुल्कसहित  १ हजार ७ सय रुपैयाँमा सय क्युफिट नदीजन्य वस्तु उपलब्ध गराउने भनिएको छ तर फर्मले खोलाबाट सोझै निकालेर १ सय क्युफिट बालुवाको १ हजार र ढुङ्गाको १ हजार २ सय लिने तर बिल भने ६ सय ७८ रुपैयाँको गरेको टयाक्टर चालक राजु कोरीको भनाइ छ ।

सम्झौतामा उक्त कम्पनीलाई  बुद्धभूमी ९ जमुनिटिहादेखि उत्तरमा अर्घाखाँचीको सिमाना रातो पहरासम्मको क्षेत्रबाट २६ हजार ४ सय धनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ । तर कम्पनीले यीबाहेकका ठाउँबाट पनि नदीजन्य पदार्थको उत्खनन गरेको छ ।

त्यस्तै ठेक्काको समयसीमा सकिए पनि न त म्याद थप गरेको छ न उत्खनन कार्य रोकेको छ ।

यो त एउटा सतहमा आएको घटना मात्र हो यसका अलाबा अन्य ठेकेदारहरुले पनि मापदण्डलाई मिचेर खोलानदीको चरम दोहन गरिरहेका छन् ।

उता जिल्ला अनुगमन समिति कपिलवस्तुका संयोजक नारायण खनाल यस विषयलाई गम्भीर रुपमा छानबिन गर्ने बताउँछन् ।

नियामक निकायले बेथिति र अनियमितताप्रति नियमन नगर्दा यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...