पौडीतर्फ दुई राष्ट्रिय कीर्तिमान

news

नेपालगन्ज, वैशाख ९ । नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पौडीतर्फ सोमबार दुईओटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् ।

पौडीको पुरुष ५० मिटर बटरफ्लाइको हिटमा नेपाल पुलिस क्लबका शयद हम्जा साहले २७.१० सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान राख्न सफल भए । यसअघि, यो विधामा अनुभव सुब्बाको नाममा २९.७१ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

यस्तै, त्रिभुवन आर्मी क्लबका अनुभवले पनि आफ्नो समयमा सुधार गरे गरेका छन् ।

पुरुषकै १०० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । ५५.३८ सेकेन्डमा दूरी पार गर्दै एलेक्सले शिरीष गुरुङको नाममा रहेको ५७.०३ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

पौडीको महिला ४०० मिटर फ्रिस्टाइलको स्वर्णपदक आर्मी क्लबकी गौरिका सिंहले जितिन् । उनले ४ मिनेट ४४.८१ सेकेन्डमा दूरी पार गरिन् ।

पौडीतर्फ पुरुष ४०० मिटर फ्रिस्टाइलको स्वर्णपदक गैरआवासीय नेपाली टोलीका नापन दोर्जी शेर्पाले जिते । उनले ४ मिनेट ३३.०९ सेकेन्डमा दूरी पार गरे ।

यो विधामा सशस्त्र प्रहरीको एपीएफ क्लबका नासिर हुसेन दोस्रो हुँदा एपीएफकै उर्गेन महर्जनले कास्यपदक जिते ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...