सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

news

काठमाडौं, वैशाख ९ । नेपाली सेनाको मुख्यालय जंगीअड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो ।

वि.सं. २०७३ जेठ २४ गते निर्माण सुरु भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरिएको हो ।

उक्त भवन निर्माणका लागि दैनिक ४०० को संख्यामा जनशक्ति अहोरात्र खटिएका थिए ।

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए ।

सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो ।

भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए ।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ ओटा कार्यालय सन्चालन हुनेछ ।

अलग–अलग सातओटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ ।

सैनिक मुख्यालयको संगठन संरचनाअनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जंगीअड्डा भवनको मंगलबार सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्नेछिन् ।

आवश्यकताअनुसार छाना (छत)मा हेलिकोप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलनकक्षसमेत छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जंगीअड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए ।

भूकम्पपछि खुम्चेर काम गर्नुपरे पनि छोटो समयमै उच्च गुणस्तरीय ढंगबाट मुख्यालय भवन निर्माण भएपछि जंगीअड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ ।

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अंग हो । नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखन्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...