प्रभावकारी देखिएन सुदुरपश्चिम प्रदेश संसद्

news

-विराज रोस्यारा/ईमेज

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख दलहरुको संसदीय दलको बैठक नियमित बस्न नसक्दा सत्तापक्ष र प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् ।

सरकार गठन भएको १ वर्ष बितिसके पनि संसदीय दलको कार्यालय व्यवस्थित नहुँदा न त सरकारले कामको गहन आत्मसमीक्षा गर्न सकेको छ न त प्रतिपक्षको खबरदारी नै प्रभावकारी बनेको छ ।

सरकारका कार्यशैली तथा कामकारबाहीको गहन तरिकाले छलफल र बहस गर्ने थलो हो संसदीय दलको बैठक ।

संसदीय दलको बैठकमा नै सांसदले पार्टीको सरकारप्रतिको आधिकारिक धारणा तय गर्दछन् र संसदमा त्यहीँ अनुसारको भूमिका प्रस्तुत गर्दछन् ।

तर सुदुरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीहरुको संसदीय दलको कार्यालय अव्यवस्थित मात्र होइन दयनीय नै छ ।

प्रदेश सरकार गठन भएको वर्षदिन बितिसके पनि सत्तारुढ नेकपा र प्रतिपक्षी राजपाले संसदीय दलको कार्यालयमा अझैसम्म बैठक बोलाउन सकेका छैनन् ।

कार्यालय अत्यन्त सानो र अव्यवस्थित भएकाले अहिलेसम्म कार्यालयमा बसेर बैठक गर्न नसकेको राजपा संसदीय दलका नेता कृष्ण चौधरी बताउँछन् ।

धनगढीमा रहेको तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयमा तिनओटै पार्टीलाई एकएक कोठा उपलब्ध गराइएको छ तर पार्टीले आफ्ना बोर्डसम्म झुण्ड्याउन सकेका छैनन् ।

नेकपाको संसदीय दलको कार्यालय ठूलो भएपनि ३९ जना भएकाले कोठामा नै अँट्दैनन् ।

असोज १० गते धनगढीको फ्लोरा होटलमा बसेको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

संसदीय दलका नेता समेत रहनु भएका मुख्यमन्त्री त्रिलोचन भट्ट र अरु सांसद्हरुको कार्यव्यवस्तताका कारणले दलको बैठक नियमित बस्न नसकिरहेको नेकपाका मुख्य सचेतक तारा लामाको भनाइ  छ ।

कार्यालयमा भौतिक संचरना अपर्याप्त हुँदा संसदीय दलको बैठक व्यवस्थित र नियमित हुन सकेको छैन ।

अर्कोतिर प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक नियमितजसो भए पनि व्यवस्थित भने हुन सकेको छैन ।

संसदीय दलको कार्यालय व्यवस्थापनमा प्रदेश सरकार र सचिवालय दुवैले ध्यान नदिएको प्रतिपक्षीको आरोप छ ।

देश निर्माणको गहन जिम्मेवारी सम्हालेका नेताहरुले आफू बस्ने कार्यालयको व्यवस्थापन गर्न सक्दैनन् भने जनताका आवश्यकता कसरी सम्बोधन गर्लान् भन्ने स्वाभाविक  प्रश्न उठ्न सक्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...