मुस्लिम समुदायको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राई

news

काठमाडौं । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले मुस्लिम समुदायको अधिकार संरक्षणको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुस्लिम आयोगले मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्धन र सशक्तिकरण सम्बन्धि सुनसरीको इटहरीमा गरेको कार्यक्रममा उनले मुस्लिमहरुको हक अधिकार र सशक्तिकरणको लागि सरकारले सहयोग गर्ने वचन दिए ।

मुस्लिम समुदायको हक अधिकारको संरक्षण संवैधानिक रुपमा भई सकेको भन्दै विशेष रुपमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा मुस्लिम समुदायको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायको आर्थिक, सामाजिक र भौतिक विकासमा आयोगले काम गर्ने बताए ।

उनले मुस्लिम समुदायको बिद्यमान अवस्था, समस्या सामधानको उपायको बारेमा धारणा राखेका थिए ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदाय भित्रको लैंगिक हिंसा र असमानताको बिषयमा सबै मुस्लिमहरु एक भएर अगाडि बढ्नु पर्ने बताए ।

मुस्लिम आयोगलाई प्रभावकारी बनाउने उपायको बारेमा प्रदेश स्तरीय सुझाव संकलन गर्न गरीएको कार्यक्रममा प्रदेश नम्बर– १ का मुस्लिमहरुले आ–आफ्नो सुझाव दिएको थिए ।

मुस्लिम आयोगले पहिलो पटक आयोगको तर्फबाट सुझाव संकलन गरेको हो ।

आयोगका अध्यक्ष अन्सारीले समुदायबाट आएका सुझावलाई अध्ययन गरी आयोग अघि बढ्ने आश्वासन दिए । कार्यक्रममा प्रदेश नम्बर –१ का मुस्लिमहरुको सहभागिता थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...