‘निजी आवास पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल’

news

‘निजी आवास पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल’

काठमाडौं, वैशाख १० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको दाबी गरेको छ ।

प्राधिकरणले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवारमध्ये ६ लाख १२ हजार ९३५ घर पुनःनिर्माणको प्रक्रियामा रहेको जनाएको हो ।

यस्तै, ५० प्रतिशत अर्थात् तीन लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

उनले दुई लाख ३० हजार ५५८ परिवार निजी आवास पुनःनिर्माणकाक्रममा रहेका जानकारी पनि दिए ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको भन्दै ज्ञवालीले भूमिहीन, सुकुम्वासीलगायतको समस्या पनि समाधान गर्नेक्रममा रहेको बताए ।

यस्तै, भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकामा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको उनले बताए ।

यस्तै, स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वका सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

पुनःनिर्माण र पुनःस्थापनाको पञ्चवर्षीय योजनामा कुल लागत ९ खर्ब ३८ अर्ब रुपैयाँ अनुमान गरिएकामा आर्थिक वर्ष ०७४/०७५ मा एक खर्ब ८६ अर्ब खर्च भएको र चालू आर्थिक वर्षमा एक खर्ब २३ अर्ब खर्च गर्ने लक्ष्य लिइएको पनि ज्ञवालीले जानकारी दिए ।

प्राधिकरणले विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माणको सबै काम सम्पन्न गर्न अझै चार खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...