अपरिपक्व उमेरमा विवाहः प्रभाव बहुआयामिक

news

प्रतीक्षा खनाल र योगेश लामा (इमेज)

काठमाडौं, वैशाख १० । नेपालको प्रचलित कानुनले वर्जित गरेपनि हाम्रो समाजमा बालविवाह अझै पूर्णरुपमा हटेको छैन । विशेषगरी सीमान्तकृत समुदायमा बालविवाह कायमै छ ।

सामाजिक कुरीतिकैरुपमा रहेको बालविवाहका कारण किशोर–किशोरीको मानसिक र शारीरिक अवस्थामा नै नकारात्मक असर पार्ने खतरा रहन्छ ।

केही दिनअघि धनुषाकी निर्मला यादवले आफ्नै श्रीमान्बाट चरम यातना खेपको घटना सार्वजनिक भयो ।

आफ्नै घरभित्र श्रीमान् मुकेशकुमार यादवले पेट्रोल छर्केर आगो लगाएपछि  निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

यो घटना भएको केही महिनाअघिमात्र उनको विवाह भएको थियो । निर्मला १६ वर्षकी भइन् भने उनका श्रीमान् १८ वर्षकामात्र छन् ।

अपरिपक्व उमेरमा विवाह–बन्धनमा बाँधिँदा यसले पार्ने प्रभाव बहुआयामिक हुन्छ ।

बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पार्ने कारक बन्छ, बालविवाह ।

अपरिपक्व अवस्थामा विवाह–बन्धनमा बाँधिँदा दुवैलाई अकस्मात् आइपर्ने जिम्मेवारी बोझिलो हुने र मनमुटाव बढ्ने मानवशास्त्रीहरु बताउँछन् ।

शारीरिक र मानसिकरुपमा परिपक्व नभएको अवस्थामा गरिने विवाहले महिलामाथि घरेलु हिंसा, दुर्व्यवहार, बेचविखनजस्ता हिंसाका घटना बढ्छ ।

साथै, परिपक्वता नआइ बच्चा जन्माउँदा आमा र नवजात शिशु दुवैमा अनेक प्रतिकूलता आउँछ ।

पुरुषमाथि पनि कम उमेरमै पारिवारिक र सामाजिक दायित्व थपिन्छ । जसले उनीहरुको मानसिकतामा प्रभाव पार्छ ।

पारिवारिक समन्वयको अभाव, कानुनी ज्ञानको कमी, घरायसी कामको लोभ, सामाजिक सन्जालको पहुँच, बढ्दो खुलापनजस्ता कारण पनि उमेर नपुग्दै विवाह–बन्धनमा बाँधिएको देखिन्छ ।

सामाजिक बनावट, परिवेश र व्यक्ति विशेष पनि बालविवाहका कारण फरक–फरक हुन्छन् ।

मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता गरेको छ । यो प्रतिबद्धता पूरा गर्न पुरातन सोच, चेतनाको कमी, गरिबी, धर्म, संस्कृतिलगायत बालविवाहका कारक पक्षलाई निरुत्साहन गर्न जनचेतना बढाउनु आवश्यक छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...