नेकपाभित्र गुट–उपगुट

news

अक्कल कुँवर (इमेज)

काठमाडौं, वैशाख १० । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्षसम्म आइपुग्दा कम्युनिस्ट पार्टीहरु गुटगत स्वार्थका कारण पटक–पटक फुटेको इतिहास छ ।

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले कम्युनिस्टहरु फुट्नमात्र होइन, जुट्न पनि सक्छन् भन्ने सन्देश दिन सफल भएपनि पार्टीभित्र गुट–उपगुटको रोग भने कायमै छ ।

मुलुकको शासनको बागडोर सम्हालेको नेकपा पनि विगतमाजस्तै पार्टीभित्रका गुट–उपगुटको प्रभावमा पर्ने त होइन भन्ने आशंका पनि छ ।

७० वर्षअघि २००६ साल वैशाखमा भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

तर, स्थापनाको दुई वर्ष नबित्दै २००८ सालमा कम्युनिस्ट पार्टी दुई चिरामा विभाजित भयो ।

कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनबाट महासचिव चुनिएका नेता केशरजंग रायमाझीले दरबारसँग झुकाव राखेपछि संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ नेतृत्वमा विद्रोह भएर नेपालमा कम्युनिस्ट पार्टी विभाजनको औपचारिक सुरुआत भएको थियो ।

नेपालका कम्युनिस्ट पार्टीहरुमा विभाजन सैद्धान्तिकभन्दा पनि पार्टीभित्रकै गुट–उपगुटको स्वार्थका कारण हुने गरेको इतिहास छ ।

२०५१ सालको निर्वाचनबाट पहिलो पार्टी बनेको तत्कालीन नेकपा एमालेमा २०५४ सालमा आएको फुट होस् या गणतन्त्र स्थापनापछिको पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन नेकपा माओवादी ।

त्यसो त बहुदल स्थापनाअघि पनि सैद्धान्तिकभन्दा गुटगत स्वार्थकै कारण पार्टी फुटेका थिए ।

तर, टुटफुटको शृंखलामा क्रमभंगता गर्दै मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ असोजमा ७ बुँदे सम्झौतासहित चुनावमा गठबन्धन गर्ने र त्यसपछि पार्टी एकताको सम्झौता भयो ।

सोही सम्झौताको जगमा चुनावमा होमिएको वाम गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्‍यो ।

२०७५ साल जेठ ३ गते पूर्वसम्झौताअनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइ नेकपा बन्यो ।

दुई पार्टी एकीकरणले टुटफुटको इतिहास बिर्सने कोसिस भएपनि एकीकृत पार्टीभित्रसमेत गुट–उपगुट कायमै छ ।

पार्टी एकतापछि गठन गरिएका पार्टीका निकायहरु गुटगत आधारमा भागबन्डा गरेर गठन भएका छन् । भागबन्डाका आधारमा गठन भएका कमिटीहरुले पार्टीभित्रको गुटबन्दीलाई संस्थागत गरेको छ ।

पार्टी एकीकरणको ११ महिनापछि सोमबार सार्वजनिक गरिएको जिल्ला कमिटी अध्यक्ष र सचिवको चयन गुटगत भागबन्डाभन्दा पर रहन सकेन । यसले पार्टीभित्रको गुटबन्दी झन् बलियोमात्र नभइ असन्तुष्टि पनि बढेको छ ।

पार्टी स्थापना दिवस र जिल्ला नेतृत्व घोषणा कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बीचैमा बाहिरिएपछि पार्टीभित्रको असन्तुष्टि र गुटबन्दीको तह थप स्पस्ट पारेको छ ।

गुट–उपगुटले विगतमा पटक–पटक फुटेका कम्युनिस्ट पार्टीभित्र अझैपनि समाप्त हुन नसकेको गुटबन्दीले आगामी दिनमा पनि विगतमाजस्तै टुटफुटको इतिहास दोहोरिने त होइन् भन्ने आशंका कायमै छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...