हिरासतभित्रको मृत्यु शंकास्पद, प्रहरीको कुटपिट र यातनाका कारण मृत्यु ? (भिडियो)

news

रविन भट्टराई (इमेज)

झापा, वैशाख १० । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा १५ वर्षीय किशोर किरण कार्कीको मृत्यु भएको विषयमा अधिकारकर्मीले गम्भीर चासो देखाएका छन् ।

चोरीको आरोपमा हिरासतमा रहेका कार्की झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले दाबी गरेपनि परिवारजन र अधिकारकर्मीहरुले घटनाप्रति आशंका प्रकट गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

चोरीको आरोपमा गत चैत २९ गते दिउँसो प्रहरीले नियन्त्रणमा लिएका झापाको मेचीनगर नगरपालिका–६ का १५ वर्षीय किरण कार्की ढोली वैशाख २ गते बिहान २ बजे झुन्डिएको अवस्थामा फेलापरेको प्रहरीले दाबी गरेको थियो ।

मृत्युपछि पनि तत्काल परिवारलाई थाहा नदिइ शंकास्पदरूपमा रातारात शव पोस्टमार्टम गरी प्रहरीले परिवारलाई शव जिम्मा लगाउन खोजेको थियो ।

गैरन्यायिक हिरासतमा राखिएका किशोरको मृत्युको घटनाको प्रमाण लुकाएर ढाकछोप गर्न खोजेको भन्दै मानवअधिकारकर्मीहरुले गम्भीर अनुसन्धानको माग गरेका हुन् ।

शवको पोस्टमार्टम गरिसकेपछिमात्र परिवारका सदस्यलाई जानकारी दिनु र छिटो–छिटो दाहसंस्कार गर्न लगाउनुले पनि आशंका बढाएको उनीहरुको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्काले २ गते नै शवको पोस्टमार्टम गरी परिवारलाई जबर्जस्ती बुझाएको परिवारको गुनासो छ ।

परिवारजनलाई थाहै नदिइ प्रहरीले पोस्टमार्टम गराइ गलत विवरण तयार पारेको मानवअधिकारकर्मी टीका मग्रातीको आरोप छ ।

हिरासतभित्र आत्महत्या गर्न असम्भव रहेको र प्रहरीले घटनाका सबै प्रमाण लुकाउने प्रयास गर्नुले कार्कीको मृत्यु आत्महत्याबाट नभइ हत्या भएको अधिकारकर्मीको दाबी छ ।

घटनाको प्रकृति र स्थानका आधारमा पनि आत्महत्या भन्न नसकिने मानवअधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेल बताउँछन् ।

शवको प्रकृति हेर्दा आत्महत्या नभइ प्रहरीको कुटपिट र यातनाका कारण किशोरको मृत्यु भएकोजस्तो देखिएको पारिवारिक स्रोतको दाबी छ ।

अधिकारकर्मीले इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) सुवास खड्कालाई तत्काल निलम्बन गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका पाँचबुँदे माग राखेका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...