स्रोत व्यवस्थापन अहिलेको मुख्य चुनौती : अर्थमन्त्री

news

काठमाडौं, वैशाख १० । अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत व्यवस्थापन अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

नेपाल व्यवस्थापन संघले मंगलबार काठमाडौंमा गरेकोे आर्थिक वर्ष २०७६/७७ को पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले संविधानले निर्दिष्ट गरेको मौलिक हक कार्यान्वयनमा बढी स्रोत आवश्यक भएको भन्दै स्रोत व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताए ।

यसो भन्दैमा राजस्वको लक्ष्य पूरा गर्न जथाभावी आयात खुला गर्ने पक्षमा आफू नरहेको पनि उनले स्पस्ट पारे ।

अर्थमन्त्री खतिवडाले चालू खर्चभित्र पनि पुँजीगत काम रहने भन्दै चालू खर्चलाई पूरै फाल्तु नमान्न पनि आग्रह गरे ।

अहिले प्रशासनमा काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी रोकिनुमा बिलमा ‘बार्गेनिङ’ मुख्य कारक रहेको पाइएको भन्दै यसको अन्त्यका लागि निर्देशन दिइसकेको पनि उनले उल्लेख गरे ।

राष्ट्रिय योजनाको आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले पुँजीगत खर्च कम हुनुमा परम्परागत ढंगकै विकासे प्रवृत्ति कायम रहनुले हो भने ।

कर्मचारीहरुले इमान्दारिता निर्वाह गर्न नसक्नु र ठूला आयोजनामा परियोजना प्रमुखहरुको सरुवा भइरहनाले राष्ट्रिय गौरवका आयोजनाहरु पछि परेको उनको विश्लेषण छ ।

बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले वित्तीय क्षेत्रलाई स्थायित्व प्रदान गर्नका लागि आयकरमा छुट दिइनुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले शिक्षा र स्वास्थ्यमा भएको व्यापारको अन्त्य गर्नका लागि सुझाव दिए ।

कार्यक्रममा आगामी बजेटको कार्यक्रमहरुमा निजी लगानी सुरक्षित गर्नका लागि सरकारले सहयोग गर्नुपर्ने र उपलब्ध प्राकृतिक स्रोतहरुको प्रयोगलाई बढावा दिइनुपर्नेमा जोड दिइएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...