सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य, २६ दिनमा २८ बैठक

news

बिराज रोस्यारा (इमेज)

कैलाली, वैशाख १२ । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे (तेस्रो) अधिवेशन बिहीबार अन्त्य भएको छ ।

प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त पत्रका आधारमा तेस्रो अधिवेशन अन्त्य गरिएको हो ।

हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुखको कार्यालयले पठाएको पत्रलाई बिहीबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले वाचन गरेर सुनाएका थिए ।

गएको माघ ४ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन तीन महिनासम्म चलेको थियो । यो अधिवेशनमा २६ दिनमा २८ ओटा बैठक बस्यो ।

अधिवेशन अवधिभर २४ घन्टा ५० मिनेट प्रदेशसभा बैठक चलेको सभामुख थापाले जानकारी दिए ।

हिउँदे अधिवेशनमा प्रदेशका लागि महत्वपूर्ण सातओटा कानुन निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक २०७५ हिउँदे अधिवेशनमा पारित भएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशको सुशासनको प्रत्याभूति सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा पहिलो संशोधन नियमावली २०७५ पारित भएको छ ।

यस्तै, प्रदेशसभाको सचिवालय सन्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७६ पारित भएको छ ।

हिउँदे अधिवेशनकैक्रममा सदनमा दर्ता भएको सुदूरपश्चिम प्रदेश स्वरोजगार कोष विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलकाक्रममा रहेको जनाइएको छ ।

यसैगरी, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशसभामा हालसम्म २६ ओटा विधेयक दर्ता भएको छ । जसमध्ये २४ ओटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

पारित भएकामध्ये १७ ओटा विधेयक प्रमाणीकरण भइसकेको छ भने पारित हुन बाँकी दुई विधेयक विचाराधीन अवस्थामा रहेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनको अन्तिम बैठकबाट ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७६’ पारित गरिएको छ । हालै प्रदेशसभामा दर्ता भएको यो विधेयकलाई ‘द्रुतमार्ग’बाट पारित गरिएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...