विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक : प्रधानमन्त्री

news

                                      तस्वीर : रासस

काठमाडौं, वैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

अन्तर प्रदेश परिषद्को बैठकलाई हिजो सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने स्पष्ट पारे ।

विकासका काममा पक्ष विपक्षमा विभाजित हुन नहुने भन्दै प्रधानमन्त्री ओलीले सबै मिलेर देशलाई समृद्ध बनाउन आह्वान गरे । सरकारको मुख्य लक्ष्य नै विकास र समृद्धि भएको भन्दै उनले तीनै तहका सरकार एकजुट भएर लागे मुलुक सफल हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा संघीयताको अभ्यास नयाँ भएकाले यसमा अभ्यस्त हुने क्रममा कहीँ कतै समस्या देखिएका कुरालाई अन्यथा लिनु नहुनेसमेत बताए । बजेट र योजना जनसंख्याको आधारमा मात्र नभई भौगोलिक अवस्था हेरेर पनि विनियोजन गर्नुपर्ने भन्दै उनले एउटा आधारमा मात्र बजेट विनियोजन गर्ने हो भने कतिपय स्थानका जनताले विकासको अनुभूति पाउन नसक्ने स्पष्ट पारे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...