खुलामञ्चमा निर्मित टहरामाथि डोजर चल्दा जे देखियो..(हेर्नुहोस भिडियो)

news

-प्रतिक्षा खनाल र राममान डंगोल(ईमेज)

काठमाडौं । काठमाडौको खुलामञ्च अतिक्रमण गरी अवैध रुपमा बनाइएका सटर डोजर लगाएर भत्काइएको छ ।

खुलामञ्चमा अतिक्रमण गरेर सटर बनाइएपछि व्यापक विरोध चुलिएपछि काठमाडौं महानगरपालिकाले आज उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काइएको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले खुलामञ्चमा निर्मित सटर भत्काएको हो ।

सटर भत्काउने क्रममा ठूलो संंख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको थियो ।

४३ वटा  सटर भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागदौड मच्चिए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

अधिकांश व्यवसायीले सटरको सामानसमेत निकाल्न पाएनन् भने केहीले हतारहतार सामान निकालेका थिए । उनीहरुले सूचना नै नदिई सटर भत्काएको भन्दै गुनासो गरेका छन् ।

सटर भाडामा लिएका अधिकांश व्यापारी र व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ ।

सटर भत्काउने क्रमका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत खुलामञ्च पुगेका थिए ।

निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर बिक्री गरिएको पाइएपछि स्थानीय र सरोकारवालाहरुले तत्काल सटर हटाउन माग गर्दै दबाब दिएका थिए ।

पुरानो बसपार्कमा निर्माणधिन भ्यू टावर निर्माणको अवधिभरका लागि खुलामञ्चको उत्तरतर्फको केही क्षेत्रमा अस्थायी बसपार्क सञ्चालनमा छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय, टिकट काउन्टर, औषधि पसल र खाजाघर सञ्चालनकोे अनुमति भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाई दिएको थियो । कम्पनीले ५२ भन्दा बढि सटर निर्माण गरिसकेको थियो ।

यसको चौतर्फी आलोचना भएपछि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति निर्माण गरिएको र सो समितिको प्रतिवेदन अध्ययन पछिमात्र निर्णय गर्न सकिने बताउँदै आएका थिए ।

उपमेयर हरिप्रभा खड्गी भने आधिकारिक रुपमा शुक्रवार मात्र समितिबारे जानकारी पाएकाले समयमा प्रतिवेदन बुझाउन नसकेको बताइन ।

काठमाडौंका खुला स्थान पछिल्लो समय अतिक्रमणको चपेटमा परी साघुरिँदै गएका छन् ।

काठमाडौंको मुटु मानिने खुलामञ्चमा नै अवैध संरचना निर्माण गरिएपछि अतिक्रमण गर्नेको सञ्जाल कति मजबुद छ भन्ने प्रष्ट भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...