नेपाल राष्ट्र बैंक विकासको गतिमा अघि बढेको छः गभर्नर डा. नेपाल

news

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।

राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा उनले आर्थिक वर्ष २०७५/०७६ मा समेत ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक भइसकेको र लगातार ३ वर्षसम्म औसत ७ प्रतिशतको आर्थिक वृद्धिको सम्भाव्यता बढेको बताएका हुन् ।

गभर्नर डा.नेपालले अहिले मुलुकको समग्र आर्थिक व्यवस्थापन सकारात्मक रहेको बताए ।

संघीयता कार्यान्वयनसँगै आर्थिक विकासलाई तिव्र गतिमा अघि बढाउन राष्ट्र बैंकले पनि तिव्र गतिमा काम गरेको भन्दै उनले स्थानीय तहहरुमा बैंकहरु पुगेको स्पष्ट पारे ।

भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना भएको र बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्न बैंकहरुले सूूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

कार्यक्रममा बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक स्थापना भइसक्ने दाबी गरे ।

सरकारले सुरु गरेको ‘सबैको बैंक खाता अभियान’लाई सफल बनाउन पनि आफूहरुले काम गरिरहेको उनको भनाइ थियो ।

वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकले २०७५ चैत मसान्तसम्ममा विभिन्न स्थानीय तहहरुमा ८ हजार २ सय ५ बैंक शाखा पुगिसकेको जानकारी दिएको छ ।

त्यस्तै चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २ करोड ५७ लाख पुगेको पनि बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७२४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगिसकेको जनाएको छ ।

२०७५ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ हजार ९ अर्ब पुगेको छ भने कर्जा लगानी २ हजार ७ सय ४९ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । कार्यक्रममा पुर्वगर्भनर सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मान पनि गरेको थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...