सनराइजर्स हैदरावादमाथि राजस्थान रोयल्सको महत्वपूर्ण जित, प्लेअफ समीकरण रोमाञ्चक बन्दै

news

जयपुर, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा ४५ वटा म्याच सकिँदासम्म प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । अंक तालिकाको पुछारमा रहेका टिमले समेत पछिल्ला म्याचमा लगातार जित हासिल गर्दै आफूलाई प्लेअफको दौडमा कायम राखेका छन् ।

गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादमाथि महत्वपूर्ण जित हासिल गर्दै आफूलाई प्लेअफको दौडमा कायम राखेको हो । राजस्थानले हैदरावादमाथि ७ विकेटको फराकिलो जित हासिल गरेको हो ।

जयपुरमा भएको म्याचमा हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य पाएको राजस्थानले २० औं ओभरको पहिलो बलमै तीन विकेटको क्षतिमा १६१ रन बनाएर जित हासिल गरेको हो ।

राजस्थानका लागि अजिंक्य रहाणेले ३९, लियाम लिभिंगस्टोनले ४४, सन्जु सामसनले ४८ र स्टीभ स्मिथले २२ रन बनाए ।

हैदरावादका लागि शाकिब अल हसन, रशिद खान र खलील अहमदले एक–एक विकेट लिए ।

ब्याटिङतर्फ हैदरावादका लागि मनीष पाण्डेले सर्वाधिक ६१ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ३७, रशिद खानले १७ रन बनाए ।

राजस्थानका वरुण अरोन, उसान थोमस, श्रेयस गोपाल र जयदेव उनादकटले दुई–दुई विकेट लिए । 

अंक तालिकामा चेन्नई सुपरकिंग्सले १२ म्याचमा ८ जितका साथ १६ अंक हासिल गरेर शीर्ष स्थान कब्जा गर्दा ११ म्याच खेलेको मुम्बई इन्डियन्स सात जितका साथ १४ अंक बटुल्दै दोस्रो नम्बरमा छ । ११ खेलबाट १४ अंक नै बटुलेको दिल्ली क्यापिटल्स भने नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

चौथो, पाँचौ र छैटौं नम्बरमा रहेका तीनै टिमको समान १० अंक छ । हैदरावाद, किंग्स इलाभेन पञ्जाब र राजस्थान क्रमशः चौथो, पाँचौ र छैटौं नम्बरमा छन् । यी तीन टिममध्ये राजस्थानले १२ खेल सकेको छ भने अन्य दुईले ११ खेल खेलेका छन् ।

सातौं र आठौं नम्बरमा रहेका कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैंग्लोरको समान ८ अंक छ । यी दुवैले ११–११ म्याच खेलेका छन् । गणितीय हिसाबले यी दुवै टिम पनि प्लेअफको दौडबाट बाहिरिइसकेका छैनन् । आफ्ना बाँकी सबै खेलमा जित र अन्य टिमको रनरेट तथा नतिजामा यी दुई टिमको प्लेअफ निर्धारण हुनेछ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...