विलासिता तथा अनुत्पादक क्षेत्रमै रेमिट्यान्स खर्च (भिडियो)

news

सागर महत

अर्घाखाँची, वैशाख १५ । पछिल्लो समय अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गए पनि त्यसबाट प्राप्त रेमिट्यान्सको सदुपयोग हुन सकेको छैन ।

रेमिट्यान्स रकम विलासिता र अनुत्पादक क्षेत्रमा बढी खर्चिँदा जिल्लामा रोजगारीका नयाँ अवसर खुल्न नसकेका हुन् । 

५ नम्बर प्रदेशको पहाडि जिल्ला अर्घाखाँची वैदेशिक रोजगारमा कामदार पठाउने जिल्लाको अग्रपंक्तिमै पर्दछ । विदेश गएका करिब ४५ हजार युवायुवतीमध्ये अधिकांश भारत, साउदी, मलेसिया लगायतका देशहरुमा छन् । जसबापत वार्षिक  साढे सात अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ ।

ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले गरेको अनौपचारिक सर्वेक्षणमा जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसाल बताउँछन् ।

विदेशको कमाइ उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा नयाँ रोजगारीका अवसरहरु खुल्न सकेका छैनन् । जसले गर्दा वैदेशिक रोजगारको अत्याधिक निर्भरता घट्न सकेको छैन । अर्घाखाँचीमा रहेका २० वटा बैंकमध्ये १८ वटाले रेमिट्यान्सको कारोवार गर्ने गर्दछन् । विभिन्न ९ वटा सहकारी र ४ वटा रेमिट प्रालिले समेत रेमिट्यान्सको कारोबार गरिरहेका छन् ।

वार्षिक रुपमा भित्रिने रकमको ४० प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ घरायसी काममा खर्च हुने र ४० प्रतिशत रकम घरजग्गा कारोबारलगायतका अनुत्पादक क्षेत्रमा खर्चिने देखिएको छ । बाँकी २० प्रतिशत रकममात्र उत्पादनशील क्षेत्र मानिएका कृषि, होटल, पसल, यातायात क्षेत्रमा लगानी गरिएको छ । परिवारको कोही सदस्य विदेश गएको छ भने अन्य सदस्यहरु उसकै भर पर्नुपर्ने स्थितिका कारण पनि उत्पादनमुलक क्षेत्रमा लगानी हुन सकेको छैन ।

रोजगारीको दीगो समाधान विदेश नभएकाले प्राप्त रेमिट्यान्सको सदुपयोग गरी आफ्नै देशको उत्पादनमुलक क्षेत्रमा लगाउनेतर्फ सबैले ध्यान दिन आवश्यक छ ।  

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...