नेकपामा दाहाल–नेपाल महाधिवेशनको पक्षमा, ओली मौन ! (भिडियो)

news

सरोज अधिकारी

काठमाडौं, वैशाख १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एकाएक एक वर्षभित्र पार्टी महाधिवेशन गरिसक्ने उद्घोष गरेपछि नेकपाभित्र तरंग छाएको छ । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मौनताले भने दाहालको उद्घोषलाई ठेस लगाइदिने छनक दिएको छ । 

जिल्ला नेतृत्व टुंग्याउन वैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकमा पार्टी महाधिवेशनका बारेमा लामै बहस भयो । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अब महाधिवेशनका लागि समयतालिका नै बनाएर जाने कुरा राखे ।

तर, त्यसमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले खासै चासो नदिएपछि ‘अहिले जिल्ला नेतृत्व टुंग्याउने निर्णयमात्र लेखौं, बाँकी कुरा पछि निर्णय गरौंला’ भन्ने भयो । त्यसको भोलिपल्ट गरिएको जिल्ला नेतृत्व घोषणा कार्यक्रममा अध्यक्ष दाहालले अबको एक वर्षभित्रै महाधिवेशन सक्ने उद्घोष गरे । उनले त्यतिमात्र भनेनन्, अबको आठ महिनाभित्र जिल्ला तथा प्रवासको अधिवेशन सकेर बाँकी चार महिना राजनीतिक बहस गरेर जानुपर्ने धारणासमेत राखे ।

नेकपाको विधानमा पनि पार्टी एकता सकिएको दुई वर्षभित्रै महाधिवेशन गर्ने भनिएको छ । अध्यक्ष दाहाल र नेपाल पक्षको बुझाई जिल्ला कमिटी बनेपछि एकता प्रक्रिया सकिएको भन्ने छ । दाहाल र नेपाल पक्षले जतिसुकै महाधिवेशनको कुरा गरे पनि एक वर्षभित्र नेकपा महाधिवेशन हुने सम्भावना अत्यन्तै न्यून रहेको स्वयं नेकपाकै कतिपय नेताहरुको भनाइ छ ।

ओलीले नचाहँदा नचाहँदै दाहाल र नेपालले जोड गर्दैमा एक वर्षभित्र सम्भव होला त नेकपाको महाधिवेशन ! 

विस्तृत रिपोर्टका लागि भिडियो रिपोर्ट हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...