स्थानीय तहले विकासको मानक सडकलाई मात्र मान्दा अन्य क्षेत्र ओझेलमा

news

-विवेक भण्डारी/ईमेज

नवलपुर । नवलपुरका अधिकांश स्थानीय तहले विकासको मानक सडकलाई मात्र मान्दा अन्य क्षेत्र ओझेलमा परेका छन् ।

जनताका समस्या र आवश्यकताका अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गर्न नसकी अधिकांश बजेट सडकमै खन्याउँदा स्थानीय तह आलोचित बन्न थालेका हुन् ।

नवलपुरका स्थानिय तहले बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरेपछि स्थानीय जनताले गुनासो गरेका छन् ।

धेरै समस्या र आवश्यकताहरु  जनचासोमा पर्ने गरे पनि सडकमा बाटोघाटो निर्माणमै बढी केन्द्रित भएको उनीहरुको गुनासो छ ।

नवलपुरको देवचुली नगरपालिका ४ झाक्रेमा र नवलपुरकै मध्यविन्दु मैनाघाटका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै र झेल्दै आएका थिए तर स्थानीय सरकार आएको दुई वर्ष पुग्न लागिसकेको छ तर जनप्रतिनिधिको यसतर्फ खासै चासो देखिँदैन  ।

सुधार गर्नुपर्ने क्षेत्रहरु धेरै भए पनि प्राथमिकताका आधारमा उनीहरुले बजेटको सदुपयोग गर्न नजान्दा अहिलेसम्म जनता निराश छन् । जनताको जीवनस्तरमा खासै सुधार आउन सकेको देखिँदैन ।

खानेपानीको समस्याले गृहिणीहरु अझ बढी मारमा परेका छन् । घरका अरु कामभन्दा पानीको जोहो गर्न ठूलो धामा गर्नुपर्ने बाध्यता छ ।

पानीकै कारणले छरछिमेकमा झैझगडा र भनाभन हुने गरेको छ ।

उसो त झाँक्रेमा खानेपानीका दिव्यपुरी खानेपानी आयोजनाले पाइपलाइन विस्तारको काम अगाडि बढाएको छ तर कामको गति दिक्दारलाग्दो छ ।

उता, देवचुली नगरपालिका ४ का वडाध्यक्ष गिरबहादुर थापा बाटोघाटोका साथै अन्य क्षेत्रमा पनि प्राथमिकतामा राखिने बताउँछन् ।

स्थानीय जनताका फरकफरक आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरकार गठन भएको हो ।

त्यसकै मर्मअनुसार जनप्रतिनिधिले जिम्मेवारीबोध गरी जनतासँग सल्लाह गरेर बजेटको उपयोग गर्नुपर्ने देखिन्छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...