समाजकल्याण परिषद्ले भाडामा लगाएको जग्गाको विवाद चर्कियो (भिडियो)

news

नारायणी लामिछाने, सानु माली र राजेन्द्र नापित (इमेज)

काठमाडौं, वैशाख १७ । पछिल्लो समय सरकारी जग्गा विवाद प्रकरण निकै मौलाएको छ ।

बालुवाटार जग्गा प्रकरण सेलाउन नपाउँदै खुलामन्च हुँदै अहिले भृकुटीमन्डपस्थित समाजकल्याण परिषद्ले भाडामा लगाएको जग्गाको विवाद चर्किएको छ ।

कहिले बालुवाटार जग्गा प्रकरण त कहिले खुलामन्च प्रकरणले नराम्ररी झड्का दिइरहेका बेला काठमाडौंको भृकुटीमन्डपस्थित टुकुचा खोलाको किनारामा रहेको समाजकल्याण परिषद्को जग्गा विवाद चर्चामा आएको छ ।

समाजकल्याण परिषद्को नाममा रहेको सो जग्गाको भाडासम्बन्धी विवादले अहिले उग्ररुप लिएको हो ।

परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग भएको जग्गा भाडा सम्झौता रद्द गरिदिएपछि विवाद बढेको हो ।

परिषद्ले गत २०७४ साल असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिएपनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको हो ।

परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएको हो । सम्झौता रद्द नगर्न सहकारीले आग्रह गर्दै आएको छ ।

सहकारीले पनि सो जग्गा तरकारी व्यवसायीहरुलाई उपलब्ध गराएको छ । तरकारी व्यवसायी तथा किसानले भने सहकारीले आफूहरुलाई ठगेको गुनासो गर्दैै आन्दोलित भएका छन् ।

इच्छुमति तरकारी बजारमा व्यवसाय गरेर बसेका व्यवसायीलाई १६ महिनाको भुक्तानी गर्न लगाएको र ५० प्रतिशतसम्म भाडा वृद्धि गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

यो तरकारी बजारमा रहेका १५० भन्दा बढी व्यक्तिको पसलबाट सहकारीले रकम उठाइ करिब दुई करोड ३७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको व्यवसायीको गुनासो छ ।

समाजकल्याण परिषद्को जग्गामा बनेको तरकारी बजारमा रहेका कृषकले २०७४ कात्तिकअगाडि परिषद्लाई नै भाडा बुझाउँदै आएपनि सहकारी स्थापना भएपछि सहकारीलाई बुझाउँदै आएका थिए ।

परिषद्ले भने सार्वजनिक खरिद ऐनअनुसार सहकारीले सम्झौता नगरेको भन्दै खारेज गरिएको जिकिर गरेको छ ।

हरित कृषि सहकारीसँग सम्झौतासम्बन्धी विवादकै कारण त्यसमा संलग्न कर्मचारी पदमुक्त भएका छन् ।

परिषद्अन्तर्गत्कै काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउने काम पनि त्रुटिपूर्ण रहेको ठहर छानबिन समितिले गरेकाले त्यससम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...