सार्वजनिक यातायतामा व्यवसायीहरुको मनपरीः यात्रुले आरक्षण सिट र सहुलियत पाएनन्

news

झापा । सार्वजनिक यातायातमा सिट आरक्षण तथा भाडामा सहुलियत गरिनुपर्ने प्रावधान भए पनि झापामा भने त्यसको कुनै परबाह छैन ।

नियामक निकायले अनुगमन नगर्नु तथा यातायात व्यवसायीको अटेरीका कारण यात्रुहरु आफ्नो अधिकारबाट वञ्चित भएका छन् ।

सरकारले सार्वजनिक यातायातमा महिला अपाङ्गता भएका र जेष्ठ नागरिकलाई अनिवार्य रुपमा आरक्षण सिट राख्नुपर्ने र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई भाडामा सहुलियत प्रदान गरेको छ ।

यो नियम बनेको धेरै वर्ष भइसक्यो तर झापामा चल्ने सार्वजनिक यातायातलाई भने यो नियमले छुन सकेको छैन । झापाको बिर्तामोडबाट दैनिक सयौँ संख्यामा सार्वजनिक यातायातका साधन चल्छन् ।

यहाँबाट  बस, जीप, माइक्रो र हायसलगायतका साधनहरु धेरै ठाउँमा आवतजावत गर्दछन् यात्रुलाई सहज यातायातको सुविधा दिने उनीहरुको थेगो नै बनेको छ तर त्यसको बेलिविस्तार यात्रा गर्नेलाई मात्र थाहा छ ।

यात्रा गर्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिद्यार्थीलाई यात्रा गर्न सहज छैन । सरकारले व्यवस्था गरेका विशेष सुविधा कसैले पनि उपभोग गर्न पाएका छैनन् ।

यात्रु चढाउने बेलामा तछाड्मछाड् गरेर यात्रुलाई तानातान गरेर दिक्क पार्ने बसका चालक गाडीमा हुलेपछि कुनै वास्ता गर्दैनन् ।

त्यसमा पनि चढाउन र ओराल्न गाह्रो हुने अवस्थाका व्यक्तिहरु देखे गाडी नै नरोकी हुइँक्याउँछन् ।

विद्यार्थी तथा वृद्धवृद्धाले पनि छुट माग्छन् भन्ने ध्येयले सकेसम्म नचढाउने मनसायमा देखिन्छन् ।

जसले सार्वजनिक यातायातप्रति सबैले अपनत्व महसुस गर्न सकेका छैनन् ।

सरकारले छुट र आरक्षणको व्यवस्था गरे पनि कार्यान्वयनको पाटोलाई भने नकेलाएको अपाङ्गता भएका व्यक्ति गुनासो गर्छन् ।

अर्कोतिर सरकारले तोकेको आरक्षणको सिट र छुटको व्यवस्था पूर्ण कार्यान्वयन गर्न व्यवसायीलाई विशेष सुविधा दिनुपर्ने यातायात व्यवसायीको तर्क छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...