पर्यटकका लागि विद्युतीय बस

news
फाइल तस्वीर ।

काठमाडौं, वैशाख १८ । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सन्चालनमा ल्याउने भएको छ ।

महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सन्चालनको योजना बनाइएको हो ।

कुन–कुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।

यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सन्चालनका लागि छुट्टाएको थियो ।

भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सन्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् ।

उनकाअनुसार बस सन्चालनले विशेष गरेर असाहय, वृद्ध र अपांगता भएका पर्यटकलाई सुविधा हुनेछ ।

उनले भने–‘बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

पुल्चोकबाट मंगलबजार र पाटनढोकाबाट मंगलबजारसम्म बस सन्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए ।

पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए ।

उनले भने–‘अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सन्चालन गर्ने योजना छ ।’

महानगरले साझाको रु एक करोडको सेयर खरिद गरेर विभिन्न रुटमा बस सन्चालन भइरहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...