नेताहरु भ्रष्टाचारमा लिप्त रहेको पुष्टि : सीके राउत

news

काठमाडौं, वैशाख १८ । सरकारसँग सहमतिपछि देश विखन्डनलगायतका आफ्ना सम्पूर्ण पुराना माग त्यागी खुला राजनीतिमा आएका सीके राउत बुधबार काठमाडौंमा सार्वजनिक समारोहमा उपस्थित भएका छन् ।

सहमतिपछि सिरहामा विशेष भेला गर्नुबाहेक उनी सार्वजनिक समारोहमा देखिएका थिएनन् ।

भेलाबाट दल दर्ताको नियमित प्रक्रिया सुरु गरेका उनले हालै जनमत पार्टी नामबाट निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आफ्नै पार्टीको विद्यार्थी मञ्चको कार्यक्रममार्फत् बुधबार पहिलोपटक सार्वजनिक समारोहमा देखिएका उनले समसामयिक राजनीतिका विषयमा कुरा गरेका छन् ।

उनले खुलामञ्च अतिक्रमण प्रकरणले नेताहरु भ्रष्टाचारमा लिप्त रहेको पुष्टि गरेको बताए ।

भ्रष्टाचार र सरकारी जग्गा अतिक्रमणका घटना तथ्यसहित सार्वजनिक हुँदा जनता चुप लागेर बस्न नहुने तर्क उनले गरे ।

सरकारले समृद्धिका नाममा बजेट उडाउने काममात्रै गरिरहेको आरोप लगाउँदै राउतले देशमा आर्थिक र सामाजिक क्रान्ति आवश्यक रहेको उल्लेख गरे ।

नेपालमा विद्यार्थीहरुको आन्दोलन अहिलेसम्म देश र जनताको हितका लागि नभएको भन्दै उनले विद्यार्थी र युवाहरु राजनीतिक अस्त्रमात्रै बन्ने परिस्थिति रहुन्जेल समृद्धि नआउने बताए ।

कार्यक्रमका अरु वक्ताहरुले युवाशक्तिको उचित मूल्यांकन र व्यवस्थापन नभएसम्म देश विकास नहुने धारणा राखेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...