समाचारको विश्वसनीयता खस्क्योः सञ्चार मन्त्री बाँस्कोटा

news
तस्वीरः रासस

काठमाडौं, बैशाख २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाचारको विश्वसनीयतामै गम्भीर प्रश्न उठेको जिकीर गरेका छन् ।

१६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगले काठमाडौंमा संयुक्त रुपमा गरेको कार्यक्रममा उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न सुझाव पनि दिए ।

मन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमले कम्युनिस्ट सरकारलाई लोकतन्त्रविरोधी देखाउन खोजेको आरोप लगाउँदै नेपाली कम्युनिष्ट पार्टीहरुले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको दाबी गरे ।

सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो बन्न नहुने सुझाव दिँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

उनले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने पनि दाबी गरे । प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै योजना नरहेको प्रष्टीकरण दिँदै उनले ‘समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिन्छ’ भने ।

सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको भन्दै उनले यो संसारभर चलेको सिद्धान्त भएको जिकीर गरे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाली मिडियाको संख्या बढेपनि गुणस्तर भने खस्किएको बताए । उनले निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गर्न आफुले प्रक्रिया थालिसकेको जानकारी पनि दिए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघले निकालेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरियो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६० वटा घटनामा ७७ पत्रकार र पाँच वटा सञ्चार गृह प्रभावित भएको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...