राष्ट्रपतिले होइन जनताले ‘मेरो सरकार’ भन्नुपर्छ

news

-संजिव कार्की 

मेरो र म जे भन्छु त्यो मेरो पार्टीको धारणा विचार र सिद्धान्त हो भन्दा गिरिजाप्रसाद कोइरालाले हाँकेको कांग्रेसको के हाल भयो त्यो सर्वविदितै छ । गिरिजाप्रसाद म र मेरो भन्दा बोलीमा अहम प्रदर्शन देखिन्थ्यो । गिरिजा त्यस्ता बक्ता थिए जसको बोलीमा रूखोपन र अहम झल्कन्थ्यो तर जे बोल्थे त्यसमा दम हुन्थ्यो । दम हुँदाको सकारात्मक–नकारात्मक उपलब्धि आफ्ना स्थानमा छन । राजाहरुलाई पनि ‘मेरो सरकार’ बोल्न लगाइन्थ्यो । जो त्यतिबेला सामान्य नै लाग्थ्यो जति अहिले गणतन्त्रमा अस्वाभाविक लागेको छ । हाम्रो भन्ने संस्कार र हाम्रो लागि गर्ने भावना नहुँदा आज राष्ट्रपतिको मेरो सरकार व्यंग र आलोचनाको निशानामा परेको छ ।

भलै अर्काले लेखेको पढ्नु पर्ने हुँदा के पढ़िदै छ राष्ट्रपतिलाई के पढाइदै छ । सो बारेमा सल्लाहाकार समुह र स्वयं राष्ट्रपतिले पुर्व जानकारी राख्नुपर्ने हो । तर हाम्रै पार्टीको सरकार, हाम्रो कमरेड टोलीले तयार पारेको नीति तथा कार्यक्रम न हो भन्ने कन्फिडेन्सको कारण यस्ता टाइपका भाषागत विवाद र कमजोरी बेलाबेलामा देखिन्छ । यो सब हुनुको कारण हो सरकारी कोटामा बिषय बिज्ञ र सल्लहकार भनेर केवल कार्यकर्ता पजनी गर्नु, आफ्ना घेराफेराका मान्छेलाई अयोग्य नै भए पनि योग्य भनेर सरकारी ढुकुटीबाट पोस्ने प्रवृत्ति । पार्टी भित्रका पनि योग्य भन्दा आफ्नो गुटगत स्वार्थमा नजिक रहेका मान्छेहरुको भर्ति र नियुक्ति गर्ने परिपाटी ।

बिगतका सरकार र पार्टीले जे कमजोरी गर्‍यो आज दुई तिहाइ हुँदा पनि सोही कमजोरी दोहोरिनु पक्कै पनि दुई तिहाइ जनमतको आठआने गलत मनस्थिति हो । यदि फ्री कम्पिटिसनबाट गएका विषय बिज्ञ हुन्थे भने हर सरकारी निकायमा सावधानी अपनाउथे । हाम्रै कमरेड र हाम्रै पार्टीका नेताले गरेको काम हो भनेर आँखा चिम्म गर्दैनथे । कारण आफ्नो एक्स्पर्टिज बदनाम हुने कारण र आफ्नो योग्यता क्षमतामा प्रश्न उठने कारण सचेतता अपनाइन्थ्यो । पार्टी कार्यकर्ता भर्ति र योग्य नियुक्तिमा फरक देखिन्छ त्यसैले यस्ता बिषय र सल्लाहकार नियुक्त गर्दा ठाडो सिफारिस र व्यक्तिको पहुँच हाबी हुन् दिनु हुँदैन । फ्री कम्पिटिसन गराएर योग्य व्यक्तिको छनौट रोज्नुपर्छ । सबै तह र तप्कामा राजनीतिक नियुक्ति गर्ने स्थान र प्रावधान राखेर, विषय विज्ञ भनेर ,पार्टी कार्यकर्ता आफ्ना मान्छे नियुक्त गर्ने जुन परिपाटी छ सो को अन्त्य हुनु जरुरी छ । आज जति पनि विसंगति र लापरवाही ,अनि असावधानी भएका छन । ती सबै अयोग्य मान्छेको चयनको कारणले भएका छन् । योग्य मान्छे, योग्य ठाउँमा नहुनुको परिणति हामी भोग्दैछौ । पार्टीको बिल्ला वा ट्याग भिरेर जानेहरु देशप्रति भन्दा नेता विशेष र पार्टी विशेषप्रति बढी उत्तरदायी हुन्छन ।

‘राइट म्यान राइट प्लेस’को अवधारणालाई खरो कार्यन्वयन आवश्यक छ । राजनीतिक रुपमा सरकारी निकायमा भर्तीकेन्द्र बनाउँदा सरकारको कार्यक्षमता देखिन्न । जनताको लागि सरकार भनेको उसको ढोकामा जे सरकारी काम हुन्छ जे हुन्न त्यही हो सरकार । आफ्नो काम कति सजिलो गरि हुन्छ या अप्ठ्यारो, झन्झटिलो जनता त्यहाँबाट सन्तुष्ट, असन्तुष्ट हुन्छन । हाम्रो सरकार, प्रत्येक नेपालीले मेरो लागि गर्ने सरकार ,मेरो सरकार भन्ने अनुभूत गर्न सक्नुपर्छ ।

सरकार प्रत्येक नेपालीको हुनुपर्छ । पार्टी विशेष र व्यक्ति विशेषको होइन । भन्न त मान्छेहरु भाषालाई होइन भावलाई बुझ्नु भन्छन तर भाषाले कस्तो कुरा सम्प्रेषण गर्दैछ त्यो पनि महत्वपूर्ण कुरा हो । त्यसमाथि राष्ट्र प्रमुखबाट बोलिने भाषाको अर्थ हुन्छ नै । भाषामा विवाद गलत हो भनेर जति भनिए पनि जति खण्डन आए पनि सरकारले तय गरेको भाषामा प्रबुद्ध बर्गको ध्यान जान्छ र जनचाहना मुखरित हुन्छ । राजाले बोल्ने राजखान्दानको भाषा र जनताको राष्ट्रपतिले बोल्ने भाषा र गर्ने ब्यबहारमा जरुर फरकपन देखिनुपर्छ अन्यथा सरकारको नीति तथा कार्यक्रम भन्दा जनताको ध्यान राष्ट्रपतिको भाषामा पक्कै पनि जादैनथ्यो । भाषा र राष्ट्रपतिले बोल्ने हाम्रो आफ्नो भाषा भएको कारण पनि भाषिक रुपमा यो कर्णप्रिय र श्रुतिमधुरता चाहिन्छ र हुनुपर्छ । जनतालाई मन पर्ने हुनुपर्छ ।

परिवर्तनको नयां स्वाद देखिनुपर्छ  । जनताले मन मुटुदेखि दिल दिमागदेखि ‘मेरो सरकार’ भन्ने वातावरण बन्नुपर्छ । प्रत्येक नेपालीले मेरो सरकार भनेर सरकारप्रति गर्व गर्ने स्थिति बन्नुपर्छ । राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार सट्टा नेपाल सरकार चैं सान्दर्भिक हुन्थ्यो । यो विषय सरकारले आफ्नो अहमको विषय बनाउनु हुन्न जे भयो त्यो ठिक भयो भनेर जिकिर अनावश्यक छ । बरु त्रुटी भयो हुन् पुग्यो । आगामी दिनमा सावधानी अपनाइने छ भनेर सहज रुपमा लिनुपर्छ । अचम्म त के देखियो भने सत्तासिन पार्टीका अर्का अध्यक्ष प्रचन्डले ड्राफ्ट पढ्दा नदेखिएको ‘मेरो सरकार ’ असामान्य ढंगले आवश्यकता भन्दा धेरै बढी ठाउँमा बारम्बार दोहोरिने गरि राख्नुको अर्थ र औचित्य के थियो ? सरकारको नीति र कार्यक्रममा त्यो घुसाउने बाध्यता कसलाई पर्‍यो ? यो बक्तब्य राजाका ड्राफ्टकर्ताले नै ड्राफ्ट गरेका त हैनन् भनेर सामाजिक संजालमा तीखो व्यंग देखिन्छ । अरु विपक्षी र सरकारका विरोधीले पनि यो विषयमै सबै ध्यान खिचेर राष्ट्रको महत्वपूर्ण समय सरकारको नीति तथा कार्यक्रममा खर्च गर्नबाट बन्चित गर्नु हुँदैन ।

आफ्नो मूल बिजनेसमा जानुपर्छ बिरोधको नाममा झिनामसिना कुरा उधिनेर बस्नु ठिक छैन । सार्थक बिरोध, रचनात्मक बिरोधको बदला निरर्थक र तिललाई पहाड बनाउने कोशिस आफैमा घातक हो । सरकार सबैको हो जो जसरी पुगे पनि तर मेरो सरकार भन्ने हक प्रधानमन्त्री, मन्त्री लगायतलाई सुरक्षित छ । सबाल के हो भने मेरो सरकार स्वामित्व लिनको लागि मात्र हैन दायित्व र कर्म पुरा गर्नको लागि पनि हुनुपर्छ । अधिकार हत्याउनको लागि मात्र होइन कर्तब्य निभाउन पनि मेरो हुनुपर्छ । जस अपजसको सबै भारी बोक्न सरकार मेरो हुनुपर्छ  । यद्यपी, यो सरकार राष्ट्रपतिको पनि हो संस्थागतरूपमा अनि व्यक्ति बिद्या भण्डारीको पनि हो तर सरकारका सबै कामको गाल अबगालको भारी राष्ट्रपतिको लागि हाम्रो संबैधानिक बन्दोबस्तीमा पर्दैन ।

मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलनको बारेमा पनि कुराहरु बाहिर आएको छ र भारतमा पनि राष्ट्रपतिले मेरो सरकार नै बोल्ने चलनको दावी गरिन्छ । भारतको चलन र नेपालको सन्दर्भ यसकारण पनि फरक छ भारतको संविधानको धारा ५३ मा कार्यकारिणी अधिकार राष्ट्रपतिको निहित रहने उल्लेख छ भने नेपालको संविधान २०७२ को धारा ७५ (क)मा  कार्यकारी अधिकार नेपालको मन्त्री परिषदमा रहने र त्यसको प्रमुखकर्ता प्रधानमन्त्री हुने अभ्यास छ । त्यसैले पनि भारतका राष्ट्रपतिको मेरो सरकार भन्नु र नेपालका राष्ट्रपतिले मेरो सरकार भन्नुमा अन्तर छ भन्छन संबिधान बेत्ताहरु । विगतमा अभ्यास नभएको कुरा अहिले किन भयो भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

राष्ट्रपतिले मेरो सरकार भन्नुमा तीनवटा कुराबाट नियाल्नु पर्छ । यसको संबैधानिक प्रावधान, राजनीतिक हैसियत र विगतको अभ्यास तर यो कुनैपनि कोणबाट उचित देखिन्न र जनता पनि यो भनाईप्रति अरुचि राख्छन । तर प्रधानमन्त्रीले संसदमा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा दम्भका साथ यो ठिक छ बरु यो लगायत यावत कुरामा गरिने प्रश्न निम्छरो र कुण्ठाग्रस्त मनस्थिति भनेर संसदको मर्यादा र सांसदको सरोकारलाई बाल नदिएर आफ्नो अहम प्रदर्शन गरेका छन् । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको जबाफ दिने शैलीलाई ‘सक्छस भने लौ आइज खेलौं’ भन्ने मुक्केवाज शैलीको जबाफ भनेर प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षको उग्र बिरोध, जनताको अरुचिको विषय, अझ आफ्नै पार्टीका धेरै नेताको असन्तुष्टी, जनताको असन्तोष , तीव्र बिरोध अनि आफ्ना अर्का अध्यक्षलाई समेत गुमराहमा राखेर किन यसो गरियो बुझ्नुपर्ने, खोतल्नुपर्ने बिषय र सबाल चै यो हो ।

राष्ट्रपतिलाई किन बारम्बार बिबादको घेरामा तान्न सरकार उद्दत छ । भर्खरै राजा फालेर स्थापित गणतन्त्रमा किन राष्ट्रपतिलाई बिबादमा तानिन्छ । राष्ट्रपति बारम्बार बिबादमा आउनुको समाजशास्त्र के हो ? सार्वजनिक आलोचनाको शृंखला किन दिन प्रतिदिन बढ्दैछ ? पहिले अभिजाज्य भनेर सामन्ती संस्कार देखाउने भनिएका राजा र तिनका परिवार र सदस्य भन्दा किन चरम सामन्ती संस्कार तडकभडक र भड्किलो खर्चिलो ब्यबहार देखाइदै छ ?

केहि अघि पररास्ट्र मन्त्रालयको विज्ञप्ती, भारतीय नेपाली दुतावासको बक्तव्य अनि अहिलेको सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा राजनैतिक नेतृत्वको कम प्रशासनिक संयन्त्र र नेतृत्वको हेल्चेक्र्याइ भनेर लिन सकिन्छ । तर राष्ट्रपतिको यो सम्बोधन कतै सुनियोजित नै भएको त हैन भनेर प्रचण्डको भनाइले पनि शंका गर्न बल मिल्दछ । सरकारको महत्वपूर्ण नीति र कार्यक्रम प्रचण्डले एउटा पढ्ने अनि राष्ट्रपतिलाई अर्को पढ्न लगाउने किन यति गम्भीर त्रुटी भयो ?  आफ्नै पार्टीका दोस्रो बरियताका अध्यक्षमाथि किन शंका गरियो यथार्थ देखाइएन ? आम बुद्दिजीवी, राजनीतिकर्मी  र आम नेपालीलाई यसकारण पनि यो वाक्य अर्थात मेरो सरकार अपाच्य लागेको हुनुपर्छ । निरङ्कुशतन्त्र र प्रवृतिले डामिएको नेपालीको मनस्थिति दुधले मुख पोलेको बिरालो दही खान पनि तर्सिएको जस्तो भएको पनि होला भनेर सामाजिक संजालमा वादप्रतिवाद देखिन्छ । पार्टी भित्र नै सामन्य कुरामा मतेक्यता र समर्थन जुटाउन प्रायः असफल देखिनु प्रधानमन्त्री ओलीको शैलीगत कमजोरी रहेको छ । बिपक्षी दुब्लो भएर होला आफ्नै पार्टी भित्रको बलियो प्रतिपक्षी पाएको छ सरकारले ।

जनताले मेरो राष्ट्रपति, मेरो प्रधानमन्त्री, मेरो मन्त्री र मेरो संसद , मेरो नेता भनेर स्वतस्फुर्त गर्व गर्ने र दावी गर्ने दिन कहिले आउछ ? बिभिन्न आचार संहिता सहित देशका उच्च पदस्तले आफुलाई परिस्कृत गरी देश र जनताको चाह र इच्छा अनुसार सम्मान सहित जनताको छोराछोरी सरल रुपमा प्रस्तुत भएको देख्न पाइयोस । दलबल र अनावश्यक घेरफेरा भन्दा बाहिर मर्यादित र सम्मानित भएर हिंडेको देख्ने कहिले ? राष्ट्रपति, प्रधानमन्त्री लगायतको सवारीमा किन जनतालाई दुःख दिईन्छ  ? किन सवारी पिच्छे उच्च पदस्तले गालीगलौज र जनताको श्राप खाने स्थिति बन्छ । आफ्ना नेता प्रतिनिधि गर्व र सम्मानका साथ हिडेको हेर्ने दिन अब आउनुपर्छ । व्यक्तिले संस्था ड्राइभ गर्ने हुनाले संस्थाको मर्यादाको लागि केहि छोड्न , केहि दिन सक्नुपर्छ । उच्च पदस्त व्यक्ति सडकमा हिंड्दा कम्तिमा मेरो राष्ट्र प्रमुखलाई धारेहात लगाउन हैन सम्मानका साथ एक झलक हेर्ने अभिलाषा जनताको बनोस ।

सुरक्षाको भद्दा प्रदर्शन बन्द गरेर मर्यादासहित यथोचित सुरक्षा प्रबन्ध गर्नु बान्छनीय हुन्छ । गलत सच्याएर जाँदा कोही  सानो ठुलो हुँदैन । सच्चाई नै सबैभन्दा ठुलो शक्ति र सामर्थ्य हो । गहिरो आत्मबोध भए जुनसुकै समस्या सामाधान गर्न मनदेखि लाग्ने हो भने समाधान भेटिन्छ । सरकार राष्ट्रपतिको प्रमुख सल्लाहकार भएको हुँदा सबै जस अपजस सैद्दान्तिक रुपमा सरकारको हो भनेर बुझिए पनि ब्यबहारिक कार्यन्वयन , शैली, पद्दति र आचरणमा राष्ट्रपति स्वयं, राष्ट्रपतिको कार्यालय र विज्ञ सल्लाहकार समुहको भूमिकालाई पनि सामान्य मानेर आँखा चिम्लनु हुँदैन यो नेपाल सरकार हो । सबैको अपनत्व देखिने मेरो सरकार प्रधानमन्त्रीको छुद्र बोली खुद्रा टिप्पणीको कारण पनि बन्न सकेको छैन । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...