नाट्यविधा पुनः ब्यूँझिँदै, रंगमञ्चमा ओहिरिए दर्शक(हेर्नुहोस भिडियो)

news

-दीपक श्रेष्ठ, सानु माली र सुन्दर गुरुङ(ईमेज)

काठमाडौं । नेपाली रंगमञ्चको इतिहास निकै लामो छ । लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि नाटक मन्चन गर्न थालिएको इतिहास छ ।

मल्लकालीन समयसम्म आइपुग्दा नेपालमा नाट्यकलाको ठोस विकास भइसकेको पाइन्छ ।

अझ मल्लकाललाई नाटकको स्वर्ण युगसमेत मानिन्छ । त्यसपछि क्रमशः छायाँमा पर्दै आएको नाट्यकला पछिल्लो समयमा पुनः लोकप्रिय बन्दै गएको छ ।

नेपालमा सर्वप्रथम ९४१ सालमा हरिसिद्दी नाटक मन्चन भएको इतिहासबाट पुष्टि हुन्छ ।

मल्लकालीन समयसम्म आइपुग्दा कला कौशल र सांस्कृतिक गतिविधिको विकास सँगसँगै नाट्यकलाको एउटा ठोस विकास भइसकेको थियो ।

तर, चलचित्र निर्माण गर्ने क्रम बढ्दै गएपछि रंगमञ्चमा मन्चन हुने नाटक ओझेलमा पर्न थाल्यो । तैपनि रंगकर्मीले हरेस खाएनन् र हिम्मत हारेनन् ।

फलस्वरुप अहिले फेरि नेपाली नाट्यप्रेमी दर्शकमा नाटकको मोह बढ्न थालेको छ । थिएटरहरुमा उपस्थित दर्शकको संख्याले पनि यसको पुष्टि गरेको छ ।

राजधानीलगायत देशका विभिन्न स्थानमा थिएटर खोल्ने क्रम पनि बढेको छ ।

रंगमन्चमा देखाइने नाटकमा जीवन्त अभिनय हेर्न पाइने भएकाले त्यसको मज्जा नै बेग्लै हुने दर्शकको अनुभव छ ।

नाट्यकर्मीले अहिले देशका विभिन्न स्थानमा घुमीघुमी दर्शकलाई मनोरन्जन प्रदान गर्दै आएका छन् । नाटकमा अभिनय गर्नसमेत युवाको उत्साह बढ्दै छ ।

चलचित्रमा भन्दा नाटकमा अभिनय गर्दा छुट्टै आत्मसन्तुष्टि मिल्ने नाटक प्रदर्शन गर्न विराटनगरबाट काठमाडौं आएका रंगकर्मीहरुको भनाइ छ ।

रंगमन्चमा मन्चन गरिने नाटक हेर्नमा जति मजा आउँछ, त्यसलाई निर्माण र निर्देशन गर्न भने त्यतिकै कठिन हुने नाटक लेखक तथा निर्देशक रामभजन कामत बताउँछन् ।

नाटकमार्फत् देशको कला, संस्कृति र इतिहासलाई जिवन्तरुपमा प्रस्तुत गरिन्छ । समाजमा रहेका अन्धविश्वासलाई हटाउन नाटकले सहयोग पुर्‍याउँदै आएको छ ।

सामाजिक रुपान्तरण गर्न ठूलो सहयोग पुर्‍याउँदै आएको नाट्यविधाको संरक्षण र सम्वद्र्धन गर्दै रंगकर्मीलाई थप प्रोत्साहन गर्न राज्यले नै पहल गर्नुपर्ने देखिन्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...