बिजुलीका पोल नै ढालेर प्रदर्शन (भिडियो)

news

गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज)

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री भन्छन्–‘काठमाडौंमा माक्स लगाउन पर्दैन ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भन्छ–‘काठमाडौंका सबै खाल्डाखुल्डी हामीले पुर्‍यौं ।’

यस्ता कुरा सुन्दा काठमाडौंको बौद्ध–जोरपाटी सडक किनारमा बस्ने स्थानीयले के सोच्छन् होला ? पाँच वर्षअघि स्तरोन्नतिका नाममा खनिएको बाटो अहिलेसम्म कालोपत्रे हुनसकेको छैन ।

अनेक सास्ती खेप्दै आएका स्थानीयले बिहीबार विरोधस्वरुप त्यहाँ बिजुलीका पोल नै ढालेर प्रदर्शन गरे ।

बाटो विस्तार गर्न भन्दै झन्डै पाँच वर्षअघि खनेको बाटो अहिलेसम्म पनि कालोपत्रे भएको छैन ।

स्थानीयले सरकार र ठेकेदारलाई पटक–पटक ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसक्दा स्थानीयको धैर्यको बाँध टुटेको छ ।

तिनै आक्रोशित स्थानीयले बिहीबार बौद्ध–जोरपाटी सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रेपछि त्यहाँको यातायात व्यवस्था अस्तव्यस्त बन्यो ।

बिजुलीका पोल ढालेर प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।

यो क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपसमेत रहेको छ । धुलाम्ये र हिलाम्ये सडककै कारण यहाँका जनताको दैनिकी निकै कस्टकर बनेको छ ।

व्यापार–व्यवसाय चौपट छ । केही व्यापारी त यहाँबाट पलायनसमेत भएका छन् ।

स्वास्थ्यमै असर पुगेको गुनासो उनीहरुको छ ।

सडक कालोपत्रे नहुँदा यो बाटो भएर दैनिक हिँड्ने साँखु, सुन्दरीजलका बासिन्दा पनि प्रताडित भएका छन् ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद पनि देखिएको छ ।

दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गाधनी प्रमाणपुर्जा बनाएको बायाँ किनारका स्थानीयहरुको आरोप छ ।

उचित मुआब्जा दिएरमात्रै सडक आसपासका घर भत्काउन अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको तर्क गर्दै ठेकेदार कम्पनी जिम्मेवारीबाट पन्छिँदै आएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पनि सोही तर्क गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...