भक्तपुरका विभिन्न स्थान डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

news

भक्तपुर, साउन २१ । विगत २४ घन्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्तेखोलामा आएको बाढीले सोमबार एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ ।

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका, थली घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव सोमबार करिब ११ बजे भक्तपुर नगरपालिका–१, सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

अनुसन्धानकाक्रममा आइतबार दिउँसो ‘साथीकहाँ जान्छु’ भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र सोमबार खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

त्यसैगरी, अविरल वर्षाका कारण सोमबार पनि भक्तपुर डुबानमा परेको छ ।

हनुमन्तेखोलामा आएको बाढीका कारण भक्तपुरको हनुमानघाट, बाराहीस्थानलगायतको क्षेत्र बिहानैदेखि डुबानमा परेको छ ।

डुबानमा परेका चारजनालाई स्थानीय र प्रहरीले उद्धार गरेको छ ।

निरन्तर पानी पर्दा खोलामा बाढी बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले हनुमन्ते नदी र मनोहरा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले बाढीग्रस्त क्षेत्रका नियमित अनुगमन गरिरहेको उनले बताए ।

विशेषगरी रातिको समयमा आउने बाढीबाट बच्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाढीमा उद्धार गर्न र आवश्यक सहयोग गर्न नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उच्च सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यता, सूर्यविनायक नगरपालिका–२, बालकोट क्षेत्र विगत तीन दिनदेखि डुबानमा परेको छ ।

अविरल वर्षाका कारण आएको पानीको भेलले उचित निकास नपाएपछि बालकोट हाइट, बंगलामुखी मार्गका तल्लो भेगमा करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

त्यसैगरी, बालकोट र सिरुटारको सिमानामा रहेको ढुंग्रेखोलामा आएको बाढी पसेपछि बालकोट माइक्रोबस पार्कपछाडि र महेन्द्र शान्ति मावि पछाडिका करिब दुई दर्जन घर दुई दिनदेखि डुबानमा परेका छन् ।

बाढीका कारण मकै र धान बालीसमेत नस्ट भएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...