गोक्यो हिमतालमा डुबेर बेपत्ता एक विद्यार्थीको शव भेटियो

news
तस्वीर सौजन्यः लक्ष्मण अधिकारी

सन्तोस राउत (इमेज)

सोलुखुम्बु, साउन २३ । पाँच दिनअघि सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये बुधबार एकजनाको शव भेटिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पेम्बानुरु शेर्पाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिए ।

सशस्त्र प्रहरीको गोताखोरको टोलीले तालको २५ मिटर गहिराइबाट बेपत्ता विद्यार्थी पेम्बानुरुको शव निकालेको हो ।

खुम्जुङ माविको कक्षा–९ मा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक भ्रमणकाक्रममा गोक्यो क्षेत्र लगिएको थियो ।

सोहीक्रममा तालमा पौडी खेल्दैगर्दा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बानुरु शेर्पा डुबेर बेपत्ता भएका थिए ।

अझै बेपत्ता दुईजनाकोे खोजीकार्य जारी छ ।

गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानैदेखि हिमतालमा डुबेका विद्यार्थीहरुको खोजी गरिरहेको घटनास्थलमा उद्धार टोलीमा संलग्न खुम्बु–पासाङल्हामु गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

अघिल्लो दिनको तुलनामा बुधबार गोक्यो क्षेत्रमा मौसम अनुकूल भएकाले खोजीकार्य सहज भएको बताइएको छ ।

उद्धार टोली मंगलबार नाम्चेबाट दुईओटा हेलिकोप्टरमा गोक्यो उडेको भएपनि गोक्योमा मौसम प्रतिकूल भएपछि फाङ्गामा अवतरण गरी करिब तीन घन्टा पैदल हिँडेर गोक्यो पुगेको थियो ।

विश्व रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल समुद्री सतहबाट ४ हजार ७५० मिटरको उचाइमा अवस्थित छ ।

‘हाइ अल्टिच्यूड’मा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सधैं माइनस २ डिग्री सेल्सियसभन्दा कम हुन्छ ।

माइनस तापक्रम भएको तालमा डुबेकाको करिब ३० मिनेटसम्ममा उद्धार गरेर सघन उपचार गर्नसकेमामात्र बाँच्ने सम्भावना हुने हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताए ।

केही महिनाअघिमात्रै यस तालकाबारेमा विस्तृत् अध्ययन गरेका डा. रेग्मीले गोताखोरको टोलीलाई पनि धेरै कठिन हुने बताए ।

‘तालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म छ । त्यसमाथि माइनस डिग्रीमा पौडिएर उद्धार गर्नु निकै चुनौतीपूर्ण काम हो ।’

कम तापक्रम भएको हिमतालमा पस्दा ‘हाइपर थर्मिया’ भएर शरीरका अंगहरु मुटु, मष्तिस्कलगायतले काम नगर्ने भएकाले गोताखोरलाईसमेत जोखिम हुने डा. रेग्मीको भनाइ छ ।

अहिले त्यहाँ पुगेका गोताखोर त्रिशूलीसहितका नदीहरुमा अनुभव संगालेका जनशक्ति भएकाले हिमतालभित्रको फरक संरचना र वातावरणमा लामो समय खोज्न सहज नहुने उनले बताए ।

उनकाअनुसार तालको बाहिरी भागमा ढुंगा भएपनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...