नेवार समुदायहरु आज गथांमुगः पर्व मनाउँदै

news

काठमाडौं, साउन २४ । नेपाल मन्डललगायत नेवार समुदाय रहेको अरु जिल्लामा बिहीबार गथांमुगः चाड मनाइँदैछ ।

पिसाच चतुर्दर्शी पनि भनिने भाद्र कृष्ण चतुर्दशीको दिन आजदेखि वर्ष दिन अरु चाडपर्वहरूको सुरुआत पनि हुन्छ ।

यस चाडलाई छोराको चाडकारुपमा लिइन्छ । यसदिन दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफासुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ ।

दिनभर चोकचोकमा ठड्याइएको नर्कटबाट निर्मित गथांमुगःलाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर बिसर्जन गरिन्छ ।

त्यसअघि, टोलवासी मिलेर घन्टाकर्णको स्वरुपमा एक मान्छेलाई छ्वालीको चिराग समात्न लगाइ टोलटोलमा परिक्रमा गराउने परम्परा छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको दहन गरिएको कथन छ ।

यो पर्वको मुख्य उद्देश्य ‘भूत’ पन्छाउनु भएकाले मध्यरातमा घरको मूलढोकामा फलामको त्रिखुटे किला ठोकेर तान्त्रिक विधिबाट पूजासमेत गर्ने गरिन्छ ।

यसरी फलाम मूलढोकामा रहेपछि भूतपेतलगायत नराम्रो तत्व घरभित्र प्रवेश गर्न पाउँदैनन् भन्ने जनविश्वास रहेको पाइन्छ ।

साथै, भूत पन्छाउनका लागि माटोको भाँडोमा भुस, जाँडको कः खुर्सानी, लसुन, बौ स्वाँ, राँगोको रगत राखी त्यसमा बत्ती बालेर पूजा गर्ने गरिन्छ ।

त्यसमा पूजा गरी ‘समेबजि’ चढाइ आ–आफनो टोलको छ्वासः वा दोबाटोमा बौ राख्ने गरिन्छ । यसपछि रायो र सर्यू रहेको विशेष तन्त्र धूपसमेत बालेर घर चोखो गरिन्छ ।

फलामको औंठी दोबाटो वा चौबाटोमा बनाइएको गथांमुगःलाई छुवाएर पविारको सबै सदस्यले लगाउने गरिन्छ ।

वैशाख अक्षय तृतीयाको दिन विशेष तान्त्रिक पूजा गरी ‘बौ जा ह्वलेगु’ भनी सोह्रटोलका ज्यापु समुदायमा आ–आफ्ना गुथि मनाइ तान्त्रिक विधिअनुसार पूजा गरी लगनटोलमा ‘पीगं द्यः’ भएको स्थानमा ‘बौजा’ राखिन्छ ।

यसरी बौजा छरेर भूतलाई सहरमा भित्र्याइने कार्यलाई ‘बलिं बिगु’ भनिन्छ । खेतमा काम गर्न शक्ति प्राप्त होस् भन्ने उद्देश्यले यो गरिन्छ भने आज भूतको नकारात्मक प्रभाव नपरोस् भनेर गथांमुगः चाड मनाउने गरिन्छ ।

खेतमा धान रोप्दा जानी–नजानी खेतमा कुल्चेर धेरै जीवात्माहरू मर्ने हुनाले त्यस्ता मरेका जीवात्माहरू चोख्याउने कर्मकारुपमा पनि धान रोप्ने काम सकिएपछि गथांमुगः पर्वलाई चोख्याउने पर्वकारुपमा मनाइन्छ ।

आजको दिन तन्त्र विद्या सिक्नका लागि उपयुक्त भएकाले तन्त्र विद्या र बोक्सी विद्या पनि आरम्भ गरिन्छ ।

विशेषरुपमा काठमाडौंको म्हय्पी अजिमामा मध्यरातमा तन्त्र विद्या र ‘बोक्सी’हरुले बोक्सी विद्या सिक्छन् भन्ने जनविश्वास रहेको छ ।

बोक्सीले आफनो औंला बालेर म्हय्पी अजिमाको पूजा–आराधना गर्ने र बोक्सी विद्या सिक्ने महिलाले आफनो श्रीमान्लाई कुच्चोको पुच्छर राखेर बोका बनाइ बलिसमेत दिइ बोक्सी विद्या सिक्छ भन्ने किंवदन्तीसमेत रहेको छ ।

समग्ररुपमा यो चाडको मूलमर्म भनेको वर्षा तथा झरीको मौसममा हुने फोहर इत्यादि सफा गर्नु र किरा–फट्यांग्रा घरमा प्रवेश नगराउनु नै हो ।

घर, गाउँ र सहरमा रहेको खराब तत्व र अस्वस्थ चीजहरुलाई फ्याँकेर शरीर र मनलाई स्वस्थ्य राख्नु नै यस पर्वको मूल उद्देश्य हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...