‘करबारे गलत प्रचार’

news

काठमाडौं, साउन ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय तहमा लगाइएको करकाबारेमा गलत प्रचार भएको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सहसचिव नेपालले केही स्थानीय तहमा भएका कमी–कमजोरीहरुलाई लिएर सामाजिक सन्जालमा सरकारले मनलाग्दी कर लगाएको भन्दै गलत प्रचार भएको दाबी गरेका हुन् ।

२० वर्षअघिदेखि कुनै प्रकारको कर नलागेको र अस्तव्यस्त भएको स्थितिमा सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै कर लगाएको नेपालको दाबी छ ।

७५३ मध्ये केही स्थानीय तहमामात्रै यस्तो समस्या आएको पनि उनको भनाइ छ ।

नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष अशोक बेन्जुले पनि क्षेत्राधिकारभन्दा बाहिर गएर स्थानीय तहले कर नलगाएको जिकिर गरे ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने करबारे अहिले सरकारले केही हतारो देखाएको टिप्पणी गरे ।

ठोस तयारी र जानकारीबिना गरिने यस्ता कामहरुले सरकारलाई अलोकप्रिय बनाउनेतर्फ उनले सचेत गराए ।

स्थानीय तहमा देखिएका कमजोरीहरुको उचित सम्बोधन गर्न अधिकारीले सुझाव दिए । प्रदेशका अर्थमन्त्रीसँग बसेर करबारे स्पस्ट धारणा तयार पार्नुपर्ने उनको भनाइ छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकारले दोहोरो कर लगाएर व्यवसायीहरुलाई हतोत्साहित र निराश बनाएको गुनासो गरे ।

चुनावका बेलामा बाँडिएका सपनाहरुविपरीत सरकारले काम गर्दै गइरहेको प्रधानको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले तयारीबिना करको दर बढाउने यस्ता निर्णयले स्वदेशी पुँजी पलायन हुने जिकिर गरे ।

इजाजत र लाइसेन्स लिएका निर्माण व्यवसायीहरुकाबारेमा सरकार चिन्तित नदेखिएको उनको गुनासो छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...