घटेन हाटबजारको मोह, राजश्व उठ्ने भएकाले प्रवर्द्धन गर्ने सोचमा जनप्रतिनिधि (भिडियो)

news

कविराज घिमिरे 

धनकुटा, भदौ १ । धेरै पहिले गाउँघरबाट सुरु भएको हाटबजार धेरै ठाउँमा हटे पनि धनकुटामा भने यसको प्रभाव उत्तिकै देखिएको छ ।

वस्तु विनिमय प्रथा अन्त्य भई ठूला ठूला बजारको विकास भए पनि धनकुटामा भने हाटबजारको मोह उत्तिकै देखिएको छ ।

पछिल्लो समय धेरै ठाउँका हाटबजारलाई बजारले विस्थापित गर्दै गएको छ । हाटबजार बजारको पहुँचभन्दा टाढा परेकालाई स्थानीयस्तरमै दैनिक आवश्यक सामग्री उपलब्ध गराउने एउटा माध्यम हो । वस्तुविनिमय प्रथालाई सहज गराउने उद्देश्यले सदियौँदेखि नै हाटबजारको प्रचलन बढ्दै गएको हो ।

अरु ठाउँमा हाटबजारहरु विस्तारै घट्दै गए पनि धनकुटामा भने अवस्था त्यस्तो छैन । दैनिक उपभोग्य सामानदेखि कपडा, जुत्ता–चप्पल, श्रृंगारिक सामान स्थानीय हाटबजारमै पाइने भएकोले यसको लोकप्रियता कायमै रहेको सहिदभूमि गाउँपालिकाका स्थानीय मातृका राईको भनाइ छ । 

हाटबजारको महत्व त्यत्तिमा मात्रै सीमित छैन । वर्षौदेखि छुट्टिएर सहरतिर गएका र गाउँमा बस्नेहरुको भेट गराउने स्थल पनि हाटबजार हो । स्थानीय रुपमा उत्पादित सामग्रीले सहज रुपमै बजार पाउने भएकोले स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा हाटबजारले सहयोग गरिरहेको आँखिसल्लाका कमलबहादुर परियार बताउँछन् ।

अहिले धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटार सहित जिल्लाका दुई दर्जनभन्दा बढी स्थानमा साप्ताहिक हाटबजार लाग्ने गर्छ । यस्ता हाटबजारबाट राजस्व उठ्ने भएकोले जनप्रतिनिधि पनि यस्ता हाटबजार प्रवर्द्धन गर्ने सोचमा छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...