‘मकालु’को पहिलो उडान बैंकक

news

सिवी अधिकारी (रासस) 

काठमाडौं, भदौ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्यान्डको बैंककबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट बिहीबार वायुयान उडान सन्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मंगलबारसम्म उडान थाल्ने भएको हो ।

मकालुले आउँदो सातादेखि बैंककबाट उडान सुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले राससलाई जानकारी दिए ।

शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान सुरु गर्ने योजना सुनाउँदै उनले थपे–‘मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भयो । हिजो एओसी पनि पाएका छौं । सोमबार या मंगलबारदेखि व्यावसायिक उडान सुरु गर्छौैं ।’

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको थियो ।

निगमको पहिलो वाइडबडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान सुरु गरेको थियो ।

पहिलो उडान दोहा भएपनि भारतको नयाँदिल्लीमात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बैंगलोर उडान सुरु गरेको निगमका कर्पोरेट विभागका उपनिर्देशक सैलेश कंसाकारले जानकारी दिए ।

एक साताभित्र नयाँ उडानतालिका आएपछि अन्य गन्तव्यमा अन्नपूर्ण लगिने उनको भनाइ छ ।

पहिलो वाइडबडीले उडान सुरु गरेयता राम्रै व्यापार गरिरहेको जनाइएको छ ।

दोस्रो वाइडबडी विमान उडाउन स्वदेशी तथा विदेशी विमानचालक (पाइलट) तयार भइसकेका छन् ।

महाप्रबन्धक कंसाकारकाअनुसार ‘मकालु’ विमानका लागि तीन विदेशी र ६ नेपाली चालक छन् ।

थप १० विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलोपटक हो ।

निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमासमेत सकारात्मक प्रभाव पार्नेछ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षकारुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सफल बनाउन राष्ट्रिय ध्वजावाहक निगमको महत्वपूर्ण भूमिका हुनेछ ।

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करिब रु २४ अर्बमा खरिद गरेको हो । दुवै वाइडबडी विमानको सिट क्षमता समान छ ।

कुल २७४ सिट क्षमताको वाइडबडी विमानको १८ ओटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमका दुवै जहाजलाई पूर्णरूपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ । नयाँ थपिएसँगै निगमसँग १३ विमान छन् ।

निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ ।

निगमभित्रका चालकलाई तालिम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

तिहारपछि कोरिया, जापान र रियाद

नयाँ वाइडबडी विमानबाट पुरानै गन्तव्यमा उडान भरिरहेको निगमले तिहारलगत्तै दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा सुरु गर्ने भएको छ ।

महाप्रबन्धक कंसाकारले ती गन्तव्यमा जान आवश्यक प्रक्रिया मिलाइएको र बाँकी काम चाँडै सकेर तिहारपछि नियमित उडान गर्ने जानकारी दिए ।

निगमले हाल भारतको नयाँदिल्ली, बैंगलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५, एक वाइडबडी ए ३३०–२०० र एअरबस ३२० सिरिजका दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

निगमले आन्तरिकतर्फ ९ ओटा विमानबाट सेवा दिइरहेको छ । तीमध्ये चीनबाट ल्याइएका वाई १२ चारओटा, एमए ६० दुईओटा र तीनओटा ट्वीनअटर विमान छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...