अब देशभरिका सबै घरधुरीलाई जलविद्युत्मा सेयर : ऊर्जामन्त्री

news

काठमाडौं, भदौ १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत् आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गरिने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले आयोजनाहरुको निर्माणमा सबै घरधुरीको सेयर लगानी गराउने गरी सरकारले काम गर्ने बताए ।

भविष्यमा वृद्धभत्ता लिएजस्तै सेयरबाट लाभ मिल्नेगरी सबै घरले जलविद्युत्मा सेयर हाल्न पाउने वातावरण सरकारले बनाउन लागेको उनको भनाइ थियो ।

ऊर्जामा हुने लगानीमार्फत् नै सबै नेपालीको घरमा समृद्धि ल्याउने सपना साकार पारिने भन्दै मन्त्री पुनले अब राजनीतिक दबाब र प्रभावका आधारमा आयोजना बनाउने र हत्याउने अवस्थाको अन्त्य गरिने दाबी पनि गरे ।

जलविद्युत् आयोजनाहरु प्रतिस्पर्धाका आधारमा नै निर्माण गरिने उनको भनाइ थियो ।

राजनीतिक भनसुनका आधारमा आयोजना अघि बढाउँदा समयमै निर्माण नहुने, लागत महँगो पर्नेलगायतका समस्या आउने गरेको भन्दै मन्त्री पुनले अब सरकारले प्रतिस्पर्धालाई नै मुख्य आधार बनाउने प्रस्ट पारे ।

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिन चिनियाँ राजदूतलाईसमेत आग्रह गरिएको उल्लेख गर्दै मन्त्री पुनले भदौभित्र सम्पन्न भएन भने ढिला हुनाको विकल्पसहितको कारण माग गरिने पनि बताए ।

कार्यक्रममा ऊर्जासचिव एवं प्राधिकरण सन्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले उत्पादित विद्युत् खपत बढाउने गरी सरकारले अगाडि बढाएका नीति कार्यान्वयनमा सहजीकरण गर्नेगरी अगाडि बढ्न निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेस गर्दै संस्था यो वर्ष एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र  विद्युत् चुहावट २०.४५ प्रतिशतमा झार्न सफल भएको जानकारी गराए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...