करमा देखिएको अन्यौलता हटाउन काम भइरहेको छ : अर्थमन्त्री

news

काठमाडौं, भदौ १ । अर्थमन्त्री डा. युवराज खतिवडाले करमा देखिएको अन्यौलता हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

अर्थ मन्त्रालय र संघीय मामिला मन्त्रालयले करको अन्यौलता हटाउन समिति गठन गरेको उनले जानकारी दिए ।

शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकारसँगको भेटमा अर्थमन्त्री खतिवडाले एकीकृत सम्पत्ति करमा धेरै विरोध भइरहेको भन्दै सम्पत्ति करको बोझ नयाँ पालिकामा भएको बताए ।

यद्यपि, एकीकृत सम्पत्ति करको प्रणालीको विरोध गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।

दोहोरो करको व्यवस्था नरहेको भन्दै एकल विन्दुबाटमात्र कर संकलन गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले प्रदेश र स्थानीय तहले नियमविपरीत लगाएको कर हटाउन भनिएको र कतिपय स्थानमा हटेकोसमेत बताए ।

उनले कर लगाएकै कारण संघीयता असफल नहुने जिकिर पनि गरे ।

अर्थमन्त्री खतिवडाले संसदीय प्रक्रियाका कारण राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग गठनमा ढिलाइ भएको बताए ।

अर्थ मन्त्रालयका सचिव राजन खनालले कर लगाउने विषयमा हतारिएको हो कि भन्दै दोहोरो करको विषयमा सरकारको ध्यानाकर्षण भएको बताए ।

स्थानीय एवं प्रादेशिक तहमा करका विषयमा संवैधानिक व्यवस्था अन्यौलपूर्ण नरहेको भन्दै उनले कतिपय स्थानीय सरकारले देखासिकीमा कर लगाएको बताए ।

यस्तै, साउन महिनामा गत वर्षको तुलनामा ३७ प्रतिशत बढी राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

साउन महिनामा एक अर्ब ३२ करोड पुँजीगत खर्च भएको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...