केरुङ–काठमाडौं रेलमार्ग ‘९ वर्षभित्र’

news

काठमाडौं, भदौ ३ । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्नसकिने देखिएको छ ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कुल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ ।

सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो ।

चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिमरूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका बेला विभागबाट उक्त जानकारी प्राप्त भएको हो ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौंसम्मको दुरी ७२.२५ किमि छ । प्रतिकिमि रु तीन अर्ब ५५ करोड लागत रहने विभागले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणकाक्रममा रेलमार्ग निर्माणका विषयमा राष्ट्रपति सी चिन फिङ र प्रधानमन्त्री ली खछ्याङसँग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो ।

९८ प्रतिशत पुल र सुरुङ 

विभागका सिनियर डिभजनल इन्जिनियर उपाध्यायकाअनुसार सो रेलमार्गमा ९८.५५ प्रतिशत पुल तथा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।

कमजोर भूभाग रहेको भन्दै विभिन्न आशंका व्यक्त भइरहेका बेला चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ ।

नेपाल सरकार आफैंले पनि रेलमार्ग निर्माण गर्नसक्ने अवस्था रहनसक्ने अध्ययनबाट देखिएको छ ।

नेपाली र चिनियाँ अधिकारीले प्रारम्भिक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...