कन्चनपुरमा प्रहरीले गोली चलायो, ८ प्रदर्शनकारी घाइते, एकको अवस्था गम्भीर

news

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले गोली चलाएको छ ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।

गोली लागेका तीनसहित ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गोली लागेर घाइते हुनेमा कन्चनपुरको कैलाली गाउँपालिकाका सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिकाका तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारी रहेका छन् ।

जसमध्ये अर्जुन भण्डारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत ‘रिफर’ गरिएको छ । अरु घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहानैदेखि सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि १०० जनाभन्दा बढी प्रहरी कैलालीबाट कन्चनपुर आएका छन् ।

बलात्कारपछि हत्या भएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार पनि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् ।

आन्दोलनमा उत्रिएका व्यवसायी, विद्यार्थी तथा स्थानीय बासिन्दाले महेन्द्रनरमा व्यापार व्यवसाय, विद्यालय र राजमार्ग पनि बन्द गराएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...