सरकारले जनचाहनाअनुसारको काम गर्न सकेन : दाहाल

news

काठमाडौं, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।

बिहीबार काठमाडौंमा इभेन्ट्स एन्ड भेन्यु एसोसिएसन अफ नेपालको पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले कम्युनिस्टको सरकार भएर पनि जनताले राहतको अनुभूति गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

उनले राज्य नियन्त्रणकारी र दमनकारी भयो भने पनि सेवा पाउनबाट जनता बन्चित हुने तर्क गरे ।

सरकारले ठीक ढंगले ऐन, कानुन कार्यान्वयन गर्नुपर्ने भन्दै उनले कानुनको सही कार्यान्वयनबाटमात्र जनता सुरक्षित रहने बताए ।

कसरी कर छल्न सकिन्छ ? भन्ने मानसिकताबाट व्यवसायीहरु मुक्त हुनुपर्ने बताउँदै उनले व्यवसायीको हितमा काम गर्नु राज्यको प्रमुख दायित्व भएको जिकिर गरे ।

सरकारले लगानीको वातावरण बनाउन नसकेको उल्लेख गर्दै उनले विदेशी लगानी आकर्षित गर्न नसकिए मुलुकको आर्थिक समृद्धि सम्भव नहुने बताए ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारको आर्थिक समृद्धि नारामामात्र सीमित भएको बताए ।

सबै राजनीतिक दलको सहकार्यबाटमात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै उनले समृद्धि र विकासका लागि सबै लाग्नुपर्ने आवश्यकता औंल्याए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...