कञ्चनपुरमा प्रहरी दमनको विरोधमा विद्यालय बन्द

news

कञ्चनपुर, भदौ ८ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक अपराधीलाई पत्ता लगाउन दबाब दिदैं आन्दोलित स्थानीयलाई प्रहरी प्रशासनले दमन गरेको विरोधमा कञ्चनपुरस्थित प्याप्सन, एनप्याप्सनआवद्ध विद्यालयले शैक्षिक संस्था बन्द गरेका छन् ।

स्थानीयवासीले निर्मलाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै गरेको प्रदर्शनमा प्रहरी प्रशासनले गोली चलाएको विरोधमा प्याब्सन र एनप्याब्सनले एकदिनका लागि विद्यालय बन्द घोषणा गरेका हुन् । सोहीअनुरुप शुक्रबार जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् ।

यता सिडियो र प्रहरी प्रमुखको सरुवापछि महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । तीन दिनदेखि ठप्प रहेका यातायात आज बिहानैबाट संचालनमा आएका छन् भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर तीन जना र झडपमा अरु पाँच जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोषकुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अर्जुन भण्डारी र तेजराज भट्टलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएकोमा अर्जुनको कोहलपुरमा पनि उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...