फोहोरको डंगुरमाथि बनेको सुन्दर बगैंचामा सरकारी कार्यालय प्रमुखहरुको बैठक

news

धनकुटा, भदौ ८ । ल्यान्डफिल साइट भन्नेबित्तिकै फोहरमैला फाल्ने दुर्घन्धित ठाउँ भन्ने बुझिन्छ । तर, धनकुटा सदरमुकामस्थित ल्याण्डफिल साइटको पहिचान त्योभन्दा अलग छ ।

त्यही फरक पहिचान भएका कारण धनकुटाका सरकारी कार्यालय प्रमुखहरुको बैठक ल्याण्डफिल साइटमा आयोजना गरिएको छ ।

फोहोर थुपारेर बनाइएको सुन्दर बगैंचामाथि धनकुटामा सरकारी कार्यालयका प्रमुखहरुको बैठक राखिएको हो । २०६६ सालमा स्थापना गरिएको ल्यान्डफिल साइटमा ४० फिट गहिरो खाडल भरिएपछि २०७१ सालमा बगैंचा निर्माण गरिएको हो । त्यही बगैंचामा कार्यालय प्रमुखहरुको बैठक बसेको हो ।

बैठकमा धनकुटास्थित ४५ कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । बैठकपछि प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले धनकुटाको फोहोर व्यवस्थापनबारे मिडियामार्फत सुनेको र त्यही कारण आफु धनकुटा आएपछिको पहिलो बैठक यहीं राख्न प्रस्ताव गरेको बताए ।

फोहोर संकलन केन्द्र धनकुटा सदरमुकाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यस्थल समेत बनेको छ । यस केन्द्रमा दैनिक सयका हाराहारीमा पर्यटक आउँछन् । अन्य स्थानबाट अध्ययन अवलोकनका लागि आउने भ्रमण टोलीलाई नगरपालिकाले ५ हजार रुपैयाँ शुल्क तोकेको छ । चैतमा शुल्क तोकिएपछि चार महिनाको अवधिमा २७ ओटा टोली आएको र १ लाख ३५ रुपैयाँ आन्तरिक आम्दानी भएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...