जिम्मेवारी सम्हाल्दै कञ्चनपुरका एसपी खडायतले भने– आवश्यक परे सुरुबाटै अनुसन्धान हुन्छ

news
फाइल तस्वीर ।

कञ्चनपुर, भदौ ८ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर खडायतले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको अनुसन्धानलाई अध्ययन गर्ने र आवश्यक परे सुरुबाटै अनुसन्धान गरिने बताएका छन् ।

सीआइबी सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको भन्दै उनले पहिले  पुरानो फाइल अनुसन्धान गर्ने र आवश्यक परे सुरुबाटै अनुसन्धान अगाडि बढाउने बताएका हुन् ।

केही दिनदेखिको अशान्तिलाई साम्य पार्ने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै  अनुसन्धानको रिपोर्ट हेरेपछि आगामी योजना बनाउने उनको भनाइ छ । निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीलाई कारवाहीको लागि माग गर्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि हिंसा भड्किएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएपछि बिहीबार महेन्द्रनगर तनावग्रस्त भएको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले दमन गरेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको सरुवाको माग गरेपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञान बहादुर सेटीलाई सरुवा गरिसकेको छ भने एसपी खडायतले जिल्ला प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...