नाबालिगमाथि बलात्कार गर्नेलाई मृत्युदन्ड दिइनुपर्ने माग

news

काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत् भएको संकल्प प्रस्तावमाथि उनीहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई दोस्रो दर्जाको नागरिककारुपमा हेरिएको र उपभोग्य साधनकारुपमामात्रै लिइएका कारण’ हिंसा बढेकाले कानुनी एवं व्यावहारिकरुपमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सामाजिकरुपमा चेतना बढाउन नसकिएको र आर्थिकरुपमासमेत विभेद रहेको, संविधानले महिला र पुरुषलाई समान अधिकार दिएपनि व्यवहारमा महिलामाथि शारीरिक, मानसिक, यौनजन्य हिंसा हुने गरेको तथा दाइजोको निहुँमा कुटपिट हुने गरेकाले विद्यमान कानुनमा सुधारको आवश्यकता औंल्याए ।

महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिको पक्ष राष्ट्र भएपनि नेपालमा महिला हिंसाको घटनामा कमी नआउनु दुःखद् रहेको उनीहरुको भनाइ थियो ।

‘सामाजिक चेतनाको अभावमा पनि महिला हिंसा बढेको छ’ भन्दै उनीहरुले सरकारले कडा कानुनको प्रबन्ध गर्नुपर्ने, विद्यमान कानुनको कडाइपूर्वक परिपालना गराउनुपर्ने र महिला हिंसाका दोषीलाई कुनैपनि प्रकारको छुट दिन नहुने बताए ।

संकल्प प्रस्ताव प्रस्तुत् गर्दै सांसद विन्दा पाण्डेले समृद्धिको पहिलो आधारकारुपमा हिंसामुक्त समाज निर्माण गर्न विद्यालय तहका पाठ्यक्रममा महिला हिंसाविरुद्धको विषय समावेश गर्न आवश्यक रहेको बताइन् ।

उनले महिला हिंसाविरुद्ध सरकारलाई गम्भीर बन्न आग्रह गर्दै जबर्जस्ती करणी गर्नेलाई सर्वस्वहरणसहितको कानुन बनाउनुपर्नेमा जोड दिए ।

सांसद पुष्पा भुसालले महिला हिंसा एवं बालबालिकामाथिको अपराध पछिल्लो दिनमा बढ्दै गएकाले त्यसलाई अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत् गरिएको जानकारी दिइन् ।

सांसद यशोदा गुरुङले महिला हिंसाविरुद्ध पर्याप्त कानुन भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा महिला, बालबालिका पीडित हुनुपरेको यथार्थ प्रस्तुत् गरिन् ।

सांसद रेखा शर्माले महिला हिंसाविरुद्धको सामाजिक अभियानलाई गाउँस्तरसम्म सन्चालन गर्नुपर्ने बताइन् ।

सांसद दुर्गा पौडेलले ‘महिला हिंसा अन्त्य गर्न सबै क्षेत्रको साझा संकल्प जरुरी छ’–भनिन् ।

सांसद लक्ष्मी परियारले सामाजिक चेतनाको अभावमा बालिकामाथि बलात्कार बढेको र दोषी समाजमा खुलमखुला हिँडिरहे पनि कारबाही नभएकामा गुनासो गरिन् ।

सांसद राधाकुमारी ज्ञवालीले महिला हिंसाविरुद्ध कारबाही गर्ने पूर्णअख्तियारीसहित चौबीसै घन्टा सन्चालन हुने विशेष संयन्त्र बनाउन माग गर्दै नाबालिगमाथि बलात्कार गर्नेलाई मृत्युदन्ड दिइनुपर्ने माग गरिन् ।

सांसद खगराज अधिकारीले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म महिला हिंसाविरुद्ध लाग्ने संकल्प प्रस्तुत् गर्दै पार्टीमा महिला निर्विरोध हुने अवस्था आए आफूले सो पद छाडिदिने स्पस्ट पारे ।

सांसद अमरेशकुमार सिंहले कानुनी, आर्थिक, सामाजिक समस्याका कारण महिला हिंसा बढेको उल्लेख गर्दै तिनलाई आर्थिक र सामाजिकरुपमा सबल बनाउनुपर्नेमा जोड दिए ।

सांसद कृष्णभक्त पोखरेलले महिला हिंसाविरुद्ध राजनीतिक दल र नागरिक समाजले जताततै विशेष अभियान चलाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको उल्लेख गरे ।

सांसद पदम गिरीले महिलाले सामाजिकरुपमा विभेद र हिंसा लामो समयदेखि भोग्दै आएपनि दोषीलाई कारबाही नहुँदा समस्या घट्नाको साटो बढ्दै गएको यथार्थ प्रस्तुत् गरे ।

सांसद नीरुदेवी पाल र नवराज सिलवालले रुढीवादी समाज रहँदासम्म महिला हिंसा घट्न सक्दैन भन्दै दोषीलाई सर्वस्वसहितको जन्मकैदको व्यवस्था गर्न माग गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...