दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै किन !

news

- सुदर्शन आचार्य

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यका पक्ष र विपक्षमा तर्कहरु चुलिन थालेका छन् । राष्ट्रिय गौरवको आयोजनामा परेको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यका लागि प्रारम्भिक काम सुरु हुनासाथ विरोधका स्वरहरु पनि सतहमा आएका छन् । केहीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिनुपर्ने बताइरहँदा केहीले उक्त क्षेत्रमा विमानस्थल निर्माण गर्न उपयुक्त नहुने तर्क गर्न थालेका छन् । विमानस्थल निर्माणका क्रममा सो क्षेत्रको वन विनाश हुने उनीहरुको तर्क छ ।

सामान्य रुपमा हेर्दा विमानस्थल निर्माण एउटा भौतिक संरचनाको विषयमात्र देखिने भए पनि यस्तो संरचना निर्माणका लागि विभिन्न विषयवस्तुलाई गम्भीर रुपले मनन् गरी उपयुक्त स्थान छनोट गर्न आवश्यक पर्दछ । अझ ठूला विमान उडान र अवतरण गर्ने ‘अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणका लागि स्थान छनोट गर्दा ध्यान दिनुपर्ने विषयहरुको दायरा अझ फराकिलो हुने विज्ञहरु बताउँछन् । छेउछाउमा अग्ला डाँडा, समथर सतह नभएको जमिन, बाक्लो बस्ती छेउछाउ विमानस्थल निर्माण अनुपयुक्त हुने विज्ञहरुको भनाइ छ । यस्ता क्षेत्र हवाई सेवाको भाषामा ‘असुरक्षित’ मानिन्छन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल किन ?

नेपालको सन्दर्भमा दोस्रो अन्तर्राष्ट्रिय विमान निर्माण कहाँ गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा प्रवेश गर्नु अघि ‘हामीलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउनु परेको ?’ भन्ने प्रश्नमा प्रवेश गर्नु उपयुक्त देखिन्छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो क्षमताअनुसार दैनिक करिब एक सयको संख्या अन्तर्राष्ट्रिय उडान–अवतरण धान्दै आएको छ । यस अतिरिक्त आन्तरिक उडानको चाप पनि उत्तिकै छ । एउटामात्र रन–वे भएको यो विमानस्थलको क्षमता बढाउने ठाउँ अब छैन । कुनै पनि विमानस्थलमा समानान्तर रुपमा दुईवटा रन–वे बनाउने हो भने दुई रन–वेबीच कम्तीमा अढाइ–तीन किलोमिटरको दुरी आवश्यक पर्दछ । यस आधारमा त्रिभुवन विमानस्थलमा अर्को रन–वे बनाउन सम्भव छैन ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चापले गर्दा कुनै पनि विमान उडान र अवतरणमा आधा घण्टादेखि एक–डेढ घण्टासम्म विलम्व हुनु सामान्यजस्तै भइसकेको छ । अवतरणको तयारीमा रहेका कतिपय विमान ‘एयर ट्राफिक’ कै कारण एक घण्टासम्म आकाशमै अवतरणको पालो कुरेर बस्नुपर्ने बाध्यता पनि बढ्दो छ । घण्टौंको हवाई यात्रापछि अवतरणका लागि काठमाडौंको आकाश नजिकै आइसकेका विमानलाई समयमै अवतरण गराउन नसक्दा ती विमानले अनावश्यक रुपमा इन्धन खर्च गर्नु परिरहेको हुन्छ भने यात्रुलाई समेत अनावश्यक रुपमा असुरक्षाको भावना बढाउने गर्दछ । हवाई यात्रामा घण्टौं बिताएको यात्रीलाई अनावश्यक रुपमा १५/२० मिनेटमात्र पनि आकाशमा ‘होल्ड’ गर्नु उसका लागि तनावको विषय बन्दछ । 

हामी एकातिर सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य प्रक्षेपण गरिरहेका हुन्छौं तर अहिलेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो सम्पूर्ण क्षमताअनुसार सेवा प्रवाह गर्दा वार्षिक ७/८ लाख पर्यटक नेपाल आउने गरेको सरकारी तथ्यांक छ । यसरी आउने पर्यटकमध्ये अधिकांश हवाईमार्गबाट आउने गरेका छन् । अहिलेकै हवाई संरचनाको निरन्तरताबाट योभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न असम्भव हुने विज्ञको भनाइ छ ।

विकल्प के ?

पर्यटन प्रवर्द्धन गर्ने हो र पर्यटन क्षेत्रको विकासबाट मुलुकको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य बनाउने हो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनिवार्य हुन्छ । पर्यटकलाई आकर्षित गर्ने भनेकै सेवा र सुविधाले हो । उनीहरु निश्चित समयभित्र सीमित रकम खर्चिएर आफ्नो लक्ष्य पुरा गर्न चाहन्छन् । सुनेको–पढेको भरमा नेपाल भ्रमण गर्न आएको एउटा पर्यटकले नेपाली धर्तीमा पाइला टेक्नु अघि नै नेपालको आकाशमा अनावश्यक रुपमा एक घण्टासम्म अवतरणको प्रतीक्षामा चक्कर लगाइरहनु पर्दछ भने नेपालप्रति उसको बुझाइ के होला ? फर्किएर उसले कस्तो सन्देश प्रवाह गर्ला ? यस्ता पक्षलाई पनि पर्यटन प्रवर्द्धनको योजना बनाउनुअघि मनन् गर्न जरुरी हुन्छ ।

यी र यस्ता विविध पक्षलाई दृष्टिगत गरी नेपालले अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर पर्यटकहरुको आगमन बढाउन आवश्यक छ । अर्को अन्तर्राष्ट्रिय विमानस्थल कहाँ निर्माण गर्ने भन्ने विषयमा प्रवेश गर्नुअघि नेपाल आउने पर्यटकहरु कस्ता हुन्छन् र कुन उद्देश्य लिएर आउने गर्दछन् भन्ने विषयमा पनि हामी प्रष्ट हुन जरुरी छ ।

मुलतः नेपालमा तीन प्रकारका पर्यटक आउने गर्दछन् । पहिलो वर्गमा ती पर्यटक हुन्छन् जो ‘एडभेञ्चर’ का लागि आउँछन् । नेपालको प्राकृतिक दृष्य अवलोकन गर्ने, हिमाली क्षेत्रका पदमार्ग घुम्ने उनीहरुको उद्देश्य हुन्छ । दोस्रो वर्गमा यस्ता पर्यटक हुन्छन् जो ‘मिश्रित उद्देश्य’ लिएर आएका हुन्छन् । उनीहरु अनुकुल अवस्थामा ‘एडभेञ्चर’ का लागि जाने गर्दछन् भने त्यस्तो अनुकुल नभए मठ–मन्दिर, सुविधाजनक स्थानमा रहेका प्राकृतिक, ऐतिहासिक सम्पदा, निकुञ्ज लगायतका क्षेत्र घुमेर फर्कने गर्दछन् । तेस्रो वर्गमा धार्मिक पर्यटक, जो आफ्नो धार्मिक आस्थाअनुसारका धार्मिक स्थल अवलोकन गर्दछन् । कोही मुक्तिनाथ, पशुपतिलगायतका मठमन्दिरको दर्शन गर्न आएका हुन्छन् भने कोही गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायतका धार्मिक स्थलका लागि आउने गर्दछन् । लुम्बिनीबाहेक पर्यटकको रोजाईमा पर्ने अधिकांश क्षेत्र नेपालको उत्तरी क्षेत्रमै पर्दछन् । उत्तरी क्षेत्र पहाड शृंखलामा पर्ने भएकाले उक्त क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुन सक्दैन । नेपाल आउने यी तीनै वर्गका पर्यटकको गन्तव्य पहिचान गरी उनीहरुलाई पायक पर्ने स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु बुद्धिमानी हुनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि कुन ठाउँ उपयुक्त ?

काठमाडौं उपत्यकाभित्र अर्को विमानस्थल निर्माणको सम्भावना छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी अर्को रन–वे थप्न पनि जमिनकै अभावका कारण सम्भव छैन । काठमाडौंमै एकमात्र अन्तर्राष्ट्रिय उडान भएका कारण दशकौंदेखि काठमाडौं उपत्यकामै पर्यटकीय केन्द्रका रुपमा भौतिक संरचनाहरु विकास हुँदै आएका छन् । पर्यटकका लागि तारे होटलदेखि लिएर ट्राभल एजेन्सीहरुलगायत अन्य विविध सुविधा जे–जति काठमाडौंले दिँदै आएको छ, नयाँ स्थानमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल आसपास आगामी एक–डेढ दशकसम्म ती सुविधाको पर्याप्त विकास सम्भव हुँदैन । किनकि दशकौंदेखि काठमाडौंमा यस क्षेत्रका लागि भएको अर्बौं–खर्बौं लगानी रातारात स्थानान्तरण सम्भव हुन्न । पर्यटकलाई सेवा–सुविधामार्फत आकर्षित गर्न सकिएन भने अन्तर्राष्ट्रिय विमानस्थलको संख्या थपेरमात्र पर्यटकको संख्या बढाउन सकिन्छ भन्ने सोच प्रत्युत्पादक हुन सक्छ ।

काठमाडौंमा विकास भएका भौतिक पूर्वाधार, पर्यटकका लागि उपलब्ध सेवा–सुविधालगायतका विषयलाई ध्यानमा राखेर काठमाडौंबाट छोटोभन्दा छोटो दुरीमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु परिणाममुखी हुनेछ । घण्टौंसम्म विमान यात्राबाट आएको एउटा पर्यटक विमानस्थलमा अवतरण गरेको छोटोसमयमा होटलमा पुगेर आराम गर्न सकोस् । ‘रि–फ्रेस’ भएर उसले आफ्नो गन्तव्यकाबारेमा तयारी गर्न सकोस् । विमानस्थल निर्माणका लागि भौगोलिक हिसाबले सुरक्षित र नेपाल आउने पर्यटकका लागि विमानस्थलमा अवतरण गरेको छोटोसमयमै उसले चाहेको सुविधा उपभोग गर्न पाउने त्यस्तो स्थान कुन होला ? दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष हो ।

यिनै पक्षमाथि लामो अध्ययन, अनुसन्धान र विज्ञहरुको राय–सुझावसहित तय भएको स्थान हो– निजगढ ।

निजगढबाट राजधानी आउनका लागि स्थलमार्गबाटै करिब एक घण्टामा सम्भव हुने अध्ययनहरुले देखाइसकेका छन् । यसका लागि विविध योजनाहरु कार्यान्वयनका चरणमा पनि छन् । निजगढको भू–बनोट, भौगोलिक रुपमा काठमाडौंसँग कम दूरी, घना बस्ती नभएको क्षेत्रलगायतका कारणले त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि विज्ञहरुले उपयुक्त ठानेका हुन् ।

राजनीतिक दलका नेताहरुमा स्वाभाविक रुपमा सकेसम्म दोस्रो विमानस्थल आफ्नो गृह क्षेत्रमा बनाउन पाए हुन्थ्यो भन्ने चाहना हुन पनि सक्छ । तर नेपाल आउने पर्यटकका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल कुन नेताको गृह क्षेत्रमा छ भन्ने विषयले महत्व राख्दैन । उनीहरुले त विमानस्थल कति सुविधाजनक छ र विमानस्थलबाट उत्रिएपछि नजिकैको सुविधासम्पन्न स्थान पुग्न कति समय र खर्च लाग्छ भन्ने विषयले महत्व राख्दछ ।

केहीले विमानस्थल निर्माणका क्रममा हुने वन विनाशलाई जोडेर त्यहाँ विमानस्थल बनाउन नहुने तर्क गरिरहेका छन् । तर निजगढको विकल्पमा अन्यत्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा के दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकले निजगढको तुलनामा कम समयमा काठमाडौं आउन पाउँछन् ? यो पक्षलाई पनि ध्यान दिन जरुरी हुन्छ । १०–१५ घण्टा विमानमा बिताएको यात्रीलाई थप दुई–तीन घण्टाको स्थल यात्रा थोपरेर उसलाई शारीरिक र मानसिक रुपमा थकाइको भारी बोकाउने हो भने त्यसले नेपालको पर्यटन प्रवर्द्धन हुन सक्दैन । नेपाल आएर उनीहरु रमाउन सक्दैनन् ।

रह्यो वन विनाशको विषय, विमानस्थल निर्माणका क्रममा काटिने रुखबिरुवाको विकल्पमा वातावरण विनाश नहुनेगरी कस्तो विकल्प अपनाउन सकिन्छ ? यस विषयमा निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विरोध गर्नेहरुले पनि विकल्प दिन सक्नु पर्दछ । सरकारले यस विषयमा आवश्यक प्रवन्ध गर्नुपर्दछ । ‘चिची पनि–पापा पनि’ भनेजस्तो ‘विमानस्थल पनि चाहियो, रुख काट्न पनि पाइँदैन’ भन्ने मान्यताले विकास सम्भव हुँदैन । बरु काटिएका रुख बराबर हुने वातावरणीय क्षतिलाई कसरी पूर्ति गर्न सकिन्छ भन्नेमा सबैले आफ्नो विद्वता खर्चनु आजको आवश्यकता हो । ‘एयर ट्राफिक’का कारण काठमाडौंको आकाशमा एक घण्टासम्म विमान अनावश्यक होल्ड हुँदा पनि विरोध गर्ने, नयाँ स्थानमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न खोज्दा पनि विरोध गर्ने संस्कृति ‘विरोधका लागि विरोधको विषय’ मात्र हो ।

विमानस्थल बनाउनै छ, अन्तर्राष्ट्रिय धावनमार्ग बनाउनै छ, तर यत्रो संरचना निर्माण गर्दा बुट्यान वा रुख काट्नै नहुने, एउटा किरा पनि मार्न नहुने भन्ने शर्त साहित्यमा स्वाभाविक हुन सक्ला, व्यवहारमा सम्भव हुँदैन । विमानस्थल एउटा सानो चौरमा सम्भव हुन्न । विमानस्थल निर्माणका लागि अर्को धर्ती कहाँबाट ल्याउने ? भएकै धर्तीमा कतै खेत होलान्, कतै बारी होलान्, कतै वन होलान् । खेत–बारी मासेर विमानस्थल बनाउँदा विरोधका स्वर त्यहाँ पनि सुनिनेछन् । ‘यत्रो खाद्यान्न उत्पादन हुने ठाउँ मासेर विमानस्थल बनाउने ?’ भनेर त्यहाँ पनि बहस र विरोध गर्न सकिन्छ । त्यसैले केही पाउनका लागि केही गुमाउनुपर्छ भन्ने सोच पनि हामीले सँगसँगै विकास गर्न जरुरी छ । संरचना निर्माणका क्रममा हुने क्षतिलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा उचित सुझाव आउन सकोस् । त्यस्ता सुझावलाई मनन् गरियोस् । बखेडामात्रले विकासको ढोका खुल्दैन ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया