कम्युनिस्ट पार्टी अनेकता दुर्भाग्य थियो अब एकता दुर्भाग्य नबनोस ?

news

-संजिव कार्की

कम्युनिस्ट अनेकता देशको दुर्भाग्य थियो अब कम्युनिस्ट एकता देशको सौभाग्य लेख्न पाइन्छ पाइन्न ? अरु जसलाई जे होस जुन पार्टीको स्थान जता पुगोस आकाश, पाताल तर मेरो चाह हो आम नेपालीको चाह र कामना हुनेछ । एकता सौभाग्य हो, एकता बल हो, सामर्थ्य हो, अवसर हो । ल्याकत परिक्षणको अहोभाग्य हो । एकता दुर्भाग्य, दुर्दशा र दुर्दिन नबनोस कसैलाई कसैगरी ? कम्युनिस्ट जितमा अहंकार दम्भ र अभिमान नपालोस । जिम्मेवारी, कर्तव्यबोध र नेपाल र नेपाली जनता प्रति अगाध विश्वास बोकोस । एकादेशको फलामे अनुशासन अब यो देशमा हाल र बर्तमानमा देखियोस ।

अनुशासनको पालना र  परिपालनामा कम्युनिस्ट पार्टी अब्बल देखियोस । कम्युनिस्ट पार्टीको सदस्य हुन र बन्न पाउँदा नेपाली गर्व गरोस् । विश्व रङ्गमंचमा बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेर दशकौं शासन गर्ने अभिभारा जनताले आबधिक निर्वाचन मार्फत पटकपटक प्रदान गरुन् । कम्युनिस्ट राजमा रामायणमा पढ्ने, जनबोलीमा बिख्यात, रामराज्य बहाल होस्  । रैती नागरिक बनुन । दलहरु प्रतिद्वन्दी हैन प्रतिस्पर्धी बनुन । प्रतिद्वन्दीता गरिबी, रोग शोक, अभाव, पीडा र भयसंग होस् । चेतना , बौद्धिकता, हार्दिकता, आत्मीयता, सहयोगात्मक भावको मानवीय पक्षसंग तिव्र प्रतिस्पर्धा र विचारको स्वस्थ्य घनिभूत बहस होस् । जनसेवा र सत्कार्य गर्दा नेताहरुको कांध कहिल्यै नगलोस, खुट्टा नकामोस । होस नगुमोस । चुनावी घोषणापत्र मुसाले खायो कि हरायो कि या बिर्सियौ भनेर जनताले भन्ने दिन नआओस् ।

चुनाव जित्नु र बलियो हुनु अनि सरकार बनाउनु ठुलो र महत्त्वपूर्ण कुरा होइन जति लोकप्रिय र जनप्रिय बनेर सत्तामा टिकीराख्नु हो । उचाइमा पुग्नु भन्दा उचाई कायम राख्नु , उचाई निरन्तर राख्नु चै जोखिम र मुख्य चुनौती हो । लोकतान्त्रिक अभ्यास र झिल्के तामझामका साथ संसारमा धेरै शासकहरु शासन सत्तामा पुगेका छन् । आशातित सफलता पनि प्राप्त गरेका छन । चुनावी प्रतिस्पर्धामा तर सत्ता सन्चाल न गर्ने कुशल खुवी र ल्याकत नहुँदा असमयमा दुर्घटनाग्रस्त बनेका थुप्रै उदाहरण र सन्देशहरु छन । क्रान्ति र भ्रान्ती सिर्जना गरेर ब्यबस्था परिवर्तनको लागि जनमत बनाउनु र त्यसको नेतृत्व गर्नु, एउटा कुरा तर अधिकांश नेता र पार्टीहरुमा सत्ता सन्चालनको ब्यबहारिक ब्यबस्थापकिय क्षमता देख्न मुस्किल छ । सत्ता दुर्घटना हुनुमा आन्तरिक र बाह्य कारण दुवै उत्तिकै र प्रभावकारी देखिन्छन् ।

आफ्नो बुतामा भन्दा अरुको आशीर्वाद र अरुको धापमा पनि हाम्रो देशको राजनीति र सत्ता हलचल हुने गरेको देखिन्छ । कहिले उत्तरको धम्की दिने कहिले दक्षिणको काखमा लूटपुट गर्ने जुन परम्परा छ , छिमेकी मित्र राष्ट्रलाई आन्तरिक मामलामा भित्र्याउन जुन देखिने नदिखेने घोषित अघोषित प्रतिस्पर्धा छ पार्टीहरुको, त्यसले देशको हित गर्दैन तर हाम्रो अभ्यासले हाम्रो हित गर्दैन भन्दा भन्दै , देख्दा देख्दै पनि त्यसले निरन्तरता पाइरहेको छ । किन हामी अरुको भर र आशीर्वचन पर्खेर आफुलार्इ जिताउने पठाउने जनताको अवमूल्यन गर्छौ ? जनता प्रति उत्तरदायी नभएर अरु कसै प्रति लगाव र झुकाव राखेर कार्य गर्छौ ।

कम्युनिस्ट पार्टीको बृहत र यति ठूलो एकताले देश नै एक ढिक्का र सबल बन्नुपर्छ , देशको विकास, शान्ति र समृद्धिको यात्रा अनबरत अघि बढनु पर्छ । कम्युनिस्ट पार्टीको एकता पछि बनेको सरकारलाई काम गर्न, शुशासन, शान्ति, विकास र समृद्धिको यात्रामा भांजो हाल्न कुनै पनि तागत र सामर्थ्यको जोड चल्दैन् ।

सरकारले निर्धक्क भएर बिना बाधा अवरोध बिकासको घोडा कुदाए हुन्छ । यति अनुकुल र यति उचित मौका संसारमा विरलै पाइन्छ प्रजातान्त्रिक पद्धति अझ मिश्रित चुनाव प्रणाली भएको मुलुकहरूमा । हाम्रो मुलुक र कम्युनिस्ट पार्टीले आहिले जुन मौका र अवसर प्राप्त गरेको छ यसको कुशल ब्यबस्थापन र संचालनको योग्यता देखाउने हो भने बिकास र समृद्धिको सयौं खुड्किला एकै फडकोबाट तय गर्न सकिन्छ । केपी ओलीको सरकारले बाह्य प्रतिकुलता देखि हच्कनु पर्ने तर्कनु पर्ने कुनै अवस्था छैन् । चुनाव हार्दैमा नैतिकता हार्दैन तर विपक्षी काङ्ग्रेस बिरोध गर्ने नैतिक हकसम्म राख्ने अवस्थामा छैन किनकी बिरोध गर्ने नैतिक हक त्योसँग हुन्छ जसले नैतिकता बचाएको हुन्छ । अहिले काङ्ग्रेससँग न नैतिक साहस छ न संसदमा उल्लेखनीय उपस्तिथि ।  सरकारले आफुले चाहे जसरी काम गर्न सक्छ जसको लागि बाह्य प्रतिकुलताबाट सरकारलाई हाइसन्चो छ ।

अहिलेसम्म केपी ओली सरकारलाई कुनै चुनौती छ अबरोध छ भने आन्तरिक ब्यबस्थापनको चुनौती हो जो साच्चिकै चुनौतीपूर्ण छ । भार्इ भार्इ मिले जितिन्छ । नत्र आन्तरिक कलह कै कारण सिद्धिन्छ । रामायणमा रामले जितेको भाइको कारण अनि रावण पराजित भएको पनि भाइको कारण । तसर्थ आफ्नो आन्तरिक एकता भाइबन्धु बीचको एकता नै सबैभन्दा ठुलो नैतिक बल र तागत हो । उर्जा हो । जनताको लागि सरकार भनेको माननीय ओलीज्यु वा उनको मन्त्री परिषद र मन्त्रीहरूको लावा लस्कर र ताम झाम होइन । जनताको निम्ति त सरकार भनेको जनताको दैनिकीसंग सरोकार राख्ने निकाय , व्यक्ति, विधि, नीति र पद्दतिमात्र हो । जनता सरकारले कस्तो डेलीभरी दिन्छ त्यो हेर्छन उचित र समुचित न्यायपूर्ण व्यबहारको पक्षमा हुन्छन् । जनताको मुल्यांकन पर्खनुपर्छ युक्तिसंगत नै आउँछ प्रायः ।

चुनाव जितेर एकछत्र र स्वेच्छाचारी शासन गर्न मात्रै हो कि कम्युनिस्ट एकता या सुशासन स्थिरता र विकासको लागि ? केपी ओलीले बलियो सरकार हाँक्न र चुनाव जित्न मात्र अपनाएको रणनीति झै देखिन थालेको छ । उस्तै साइनबोर्ड फरक फरक ठाँउबाट झिकेर एकै ठाँउमा झुन्डयाउनु । एकता साइनबोर्डको होइन, एकता भावनाको हुनुपर्छ । भावनात्मक र भौतिक अनि सैद्धान्तिक एकता हुनुपर्छ । ब्यबहारिक ,वचन र कर्मको एकता हुनुपर्छ ।

तर देखिन थाल्यो एकता चुनावी रणनीति मात्रै थियो । केन्द्र भन्दा तल एकता भएको पार्टी कमिटी छैन् । केन्द्रिय कमिटी जम्बो छ केन्द्रिय कमिटीका मेम्बरहरु एकले अर्कोलाई चिन्ने जान्ने अवस्था छैन । यस्तो जम्बो केन्द्रिय कमिटीले कस्तो विचार, बहस र छलफल गरेर पार्टीलाई जिवन्त्त बनाउन सक्छन् ? पार्टी केन्द्रिय कमिटीको बैठक कुनै आमसभा हो, जहाँ नेताको भाषण सुनाउन समय हुन्छ तर कुनै पनि विषय प्रसङ्ग र समस्या माथि बहस तर्क र छलफल असम्भव छ । यस्तो भद्दा र भद्रगोल स्थितिमा जम्बो कमिटी देखाउन र कसैलाई नेता बन्न स्वीकार गर्न र स्थान दिन मात्रै हो देशको निकाशको लागि होइन भएन ।

चुस्त दुरुस्त छरितो र प्रभावकारी पार्टी कमिटी हुनुपर्ने , बनाउनु पर्ने हो तर ठुलो पार्टीको बहानामा, दुई पार्टी मिल्दा आइपरेको बाध्यताको नाममा जे भयो हुँदैछ भद्रगोल हुदैछ ।  जुन पार्टी पद्धति र देशको लागि पनि हानिकारक छ । त्यसैले प्रश्न उठ्छ एकता चुनावी नतिजा केन्द्रित मात्र हो वास्तविक एकता होइन । एकता हुँदा त्याग र समर्पण देखाउन सक्नुपर्छ नेताहरूले खै त्याग र समर्पण देखाएको ? सबैलाई आफुले पाएको पद गुम्ला, आफ्नो बर्णानुक्रममा बस्न अप्ठ्यारो छ । सबैलाई पदानुक्रम चाहिएको छ । सबैको स्वार्थ मात्रै देखिन्छ देशको स्वार्थ र हितको लागी एकता देखिएन । बल्लतल्ल केन्द्रिय कमिटी बन्यो तर देशभर जिल्ला कमिटी स्थानीय कमिटी र प्रदेश कमिटी बनेको छैन बरु हिजो पार्टी अलगअलग हुँदाको बेला झैं आ–आफ्नो चुलोबाट धुवाँ निकाल्न ब्यस्त छन्  सबै जनबर्गिय संघ संगठनहरु । दुई पार्टी एकीकृत हुनु  चमत्कार र नयाँ प्रयोग थिएन, होइन । तर पनि तिव्र प्रतिस्पर्धामा उत्रेका एक अर्काप्रति चरम घृणा र वैमनस्यता बोकेर स्थानीय चुनावमा प्रतिद्वन्द्वीता गरेका दुई पार्टी एकाएक मिल्नुको रहस्य भने अहिले पनि रहस्यमय नै छ ।

सबैलाई चकित र कौतुहलता दिने अनि अनुसन्धान र खोजको विषय नै हो नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच सम्पन्न पार्टी एकता । अझ रोमाञ्चक कुरा के हो भने प्रचण्ड र केपी ओली एक आपसमा यति कटुता बोक्थे कि ओलीलार्इ प्रचण्ड मानसिक सन्तुलन गुमेको ब्यक्ति र ओली प्रचण्डलाई भीरको बांदर र जंगली जनावरको रूपमा चित्रण गर्थे । तर अचानक चुनावी तालमेल र पार्टी एकता सम्मको कुरा र हाल आएर एकीकृत पार्टी नै बन्नु एउटा ठुलो चमत्कार र अनौठो प्रयोग हो ।

धेरै राजनीतिक पन्डितहरुले अडकल र लख काटेको विषय हो । यो कुनै अर्कै शक्तिको डिजाइनमा कम्युनिस्ट पार्टी सिध्याउन गरिएको दुरगामी पहल हो । यसको नायकत्व ओली र प्रचण्डले लिए कुनै स्वार्थको प्रलोभनमा परेर । कसैले भने नेपालमा कम्युनिस्ट पार्टीको एकता ऐतिहासिक आवश्यकता र जनचाहनाको प्रतिबिम्ब र ठोस परिस्थितिको ठोस विश्लेषण हो । दुई ठूल्ठूला कम्युनिस्ट पार्टी मिलेपछी चुनावी नतिजा त सबैले अपेक्षा गरे अनुसार नै थियो । तर पार्टी एकताप्रति स्वंय नेकपा र माओवादी केन्द्रका नेताकार्यकर्ता संसयमा थिए ।  आशंका र अन्योलमा थिए । तर एकता संभावना कसैको पनि दुर्भावना र भयले रोक्न सकेन । नेताकार्यकर्ता सबै अन्योलग्रस्त हुँदाहुँदै पनि बिना कुनै सैद्धान्तिक र ब्यबहारिक आधार कसरी संभव भयो पार्टी एकता । कुन त्यस्तो फेविकल भेट्टाइयो जसले सजिलै जोडीदियो निकट अतीतको तीतो प्रतिद्वन्द्वीतालाई ? कसरी हरायो त्यो अहंको तुष ? कसरी मेटियो वैरभाव ? सिक्नु, खोज्नु र जान्नु पर्ने केन्द्रिय भाव चाहि यहि हो ।

एकताको सैद्धान्तिक र ब्यबहारिक अनि सर्वमान्य सिद्धान्त बिना चुनावी जीत हासिल गर्न सकिन्छ तर सफलता हासिल गर्न कठिन हुन्छ भन्ने कुरा प्रमाण पुर्याउन माधव नेपालको संसदमा गर्जन, बामदेवको मौनता अनि नारायणकाजी लगायत नेताको सार्वजनिक असन्तुष्ट विचार हेर्दा थाहा लाग्छ । हरेक पार्टी र तिनका नेताकार्यकर्ताको गुट, उपगुटको संग्राम हेरेर दिक्क वाक्क परेका जनता के अब नेकपाका नेता कार्यकर्ताको महासंग्राम हेरेर बस्नु पर्ने नयाँ चरणमा प्रवेश गरेका हुन त ? पार्टीलाई भ्रष्टाचार मुक्त र पारदर्शी बनाइ सरकार र पार्टी समन्वय र प्रभावकारी बनोस । देशमा रहेको अस्थिर सरकारले स्थिरता पाओस भनेर जनताले अभिव्यक्त गरेको जनमत किमार्थ आपसी झगडा, बेमेल, अधैर्य र कुशासनको लागि थिएन् । एउटा बाघको आक्रमणले घाइते भएका जनता अर्को बाघको आक्रमणमा पर्न गए जस्तो नबनोस नेकपाप्रति जनताको अभिमत । जनताको आशा भरोसा र विश्वास माथि तुषारापात गर्ने शासक धेरै टिकेको उदाहरण बिरलै पाइन्छ । जनता के खोज्छन् ? जनताको चाह यस्तो हुन्छ होइन र ? पार्टीका नेता यस्तो बन्नुपर्छ भीम आचार्य लेख्छ्न । उनको यो धारणा जस्ताको तस्तै राखें । 

‘को हुन्छ नेता ? मुलुक बन्द गर्ने नेता हुन्छ कि मुलुक खोल्ने नेता हुन्छ ? सडक अवरोध गर्ने नेता हुन्छ कि सडक सुचारू गर्ने नेता हुन्छ ? तोडफोड गर्ने नेता हुन्छ कि सृजना गर्ने नेता हुन्छ ? सबैलाई विभाजित गर्ने नेता हुन्छ कि सबैलाई समेटेर हिड्ने नेता हुन्छ ? समाज विकास गर्ने नेता हुन्छ कि गफ गर्ने र पद ओगट्ने नेता हुन्छ ? सबैलाई सशक्तिकरण गर्ने नेता हुन्छ कि निर्बलीकरण गर्ने नेता हुन्छ ?’  

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया