इलाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सवको तयारी

news

प्रकाश नेपाल

इलाम, असोज २३ । इलामको देउमाई नगरपालिका–७ स्थित सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव आयोजना हुने भएको छ ।  

‘आन्तरिक पर्यटन प्रवर्द्धनमा जुटौं’ भन्ने नाराका साथ आगामी कार्तिक २५, २६ र २७ गते महोत्सव आयोजना गर्न लागिएको सिद्धिथुम्का पर्यटन महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईले जानकारी दिए ।

महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकीका साथ कार्यक्रम उद्घाटन, दोस्रो दिन भव्य सांस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोहमा सम्मान कार्यक्रम हुने उनले बताए ।

महोत्सवमा प्रमुख आकर्षणको रुपमा सुर्योदय र सुर्यास्तको रुपमा सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधता साथै जातीय सांस्कृतिक नाँचगान, स्थानीय खानपिनका परिकार रहेका छन् ।

सदरमुकामदेखि पश्चिम भेगमा रहेको सिद्धिथुम्का चुली समुन्द्र सतहदेखि १ हजार ६९३ मिटरको उचाईमा छ । सिद्धिथुम्का चुलीबाट सुर्योदय र सुर्यास्तको दृश्यको मजा लिन सकिन्छ ।

यो चुली बाहेक अजम्बरे डाँडा, खान्दु्रङ गुफा, स्थानीय व्यवसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय, सालको जंगल र बहुसांस्कृतिक जनजाति समुदाय लिम्बू, राई, तामाङ, मगर जातिको सांस्कृतिक जीवनशैली आकर्षणको पक्ष रहेको अध्यक्ष गुरागाईले बताए ।

जीतपुर र सिद्धिथुम्काको सीमानामा रहेको अजम्बरे डाँडाबाट हरिया चिया बुट्यानको मनोरम दृष्य, कञ्चनजंगा र हिमालय पर्वतको शृङ्खला साथै तराईका समथर फाँटहरु र इलामको सम्पुर्ण गाँउबस्ती नियाल्न सकिने वडा नम्बर ९ का सचिव युवराज घोर्साईंले बताए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया